१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाढीले सप्तरीमा मृत्यु हुनेको संख्या चार पुग्‍यो



राजविराज।

अविरल वर्षा र बाढीका कारण सप्तरीमा मृत्यु हुनेको संख्या चार पुगेको छ।जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको वैठकले चार दिनअघि मृत्यु भएका तिलाठी कोइलाडी ४ का आठ वर्षीय कमलु सदाको मृत्यु बाढीबाट भएको निष्कर्ष निकाले पछि मृतकको संख्या चार पुगेको हो।
बाढीको पानीमा भिजेर थप विरामी हुँदा उपचार अभावमा बिरामी बालक सदाको गत आइतबार मृत्यु भएको थियो।त्यसअघि मुतनी नदीको बाढीले बगाएर बेल्ही चपेना गाउँपालिका ४ का ३२ वर्षीय कमला मुखियाको र तरकैया खोलाले बगाएर डाक्नेश्वरी नगरपालिका ८ का ५५ वर्षीय नथुनी रामको आइतबार मृत्यु भएको प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए।
बाढीले बगाएको स्थानदेखि करिब तीन किलोमिटर टाढा खोला किनारमा रामको शव सोमवार विहान मृत अवस्थामा फेला परेको थियो।एक साताअघि गत बिहीबार खाँडो खोलाले भत्काएको राजबिराज नगरपालिका १५ देउरी भरुवास्थित पश्चिमतर्फको बाँधको डिल बाँध्ने क्रममा ढिस्कोले पुरिएर स्थानीय ६० वर्षीय डोमी यादव पानीको भेलमा बेपत्ता भएका थिए। हालसम्म यादवको शव फेला पर्न सकेको छैन।

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  ७ : ०३ बजे