६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

बाढीपीडितलाई राहत वितरण



तुलसीपुर, १ भाद्र ।
तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा गठित प्रमुख विपद् व्यवस्थापन कोषमार्फत विभिन्न सङ्घसंस्थाले बाढीपीडितलाई बिहिबार राहत वितरण गरेका छन् ।
एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने उद्देश्यले गठित कोषले तुलसीपुर–१३ रनियापुर, अम्वापुर र दमारगाउँका ४२ घर बाढीपीडितलाई सिरक, तन्ना, पी फर्म, झुललगायतका सामग्री वितरण गरेको हो ।
स्नेह केन्द्र सञ्चालनमा
यसैबीच जिल्लास्थित महिला मानवअधिकार रक्षक सञ्जालले बाढीपीडित गर्भवती तथा सुत्केरी महिलालाई सुरक्षित आवास, पोषण, लत्ताकपडा, औषधि उपचार र मनोसामाजिक सहयोगका लागि आजदेखि ‘स्नेह केन्द्र’ सञ्चालन गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका वडा नं १२ को पड्डामा सो केन्द्र स्थापना गरिएको महिला मानवअधिकार रक्षक सञ्जालका जिल्ला संयोजक सुष्मा गिरीले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सो केन्द्र उद्घाटन गर्दै गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई ख्याल गरेर केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो ।
बाढीपीडितमा स्वास्थ्य शिविर
बाढीपीडित समुदायमा सङ्क्रमण फैलिन नदिन तुलसीपुर उपमहानगरपालिकाले राप्ती अञ्चल औषधि व्यवसायी सङ्घको सहयोगमा बाढी प्रभावित क्षेत्र तुलसीपुर–१३ रनियापुरमा बुधबार स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ५१ महिलासहित ८९ जनाको स्वास्थ्य जाँच गरिएको डा अरविन्द भुसालले जानकारी दिनुभयो ।
शिविरमा आएका पीडितलाई सामान्य रुघा खोकी, पेट दुख्ने, भाइरल फिवरलगायतका सामान्य रोग लागेको र उनीहरुलाई औषधिसमेत दिइएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य शाखाका वसन्तकुमार आचार्यले बताउनुभयो ।
शिविरमा राप्ती अञ्चल औषधि व्यवसायी समितिका अध्यक्ष भुवनेश्वर बुढाले औषधि उपलब्ध गराउनुभएको थियो । बाढीपीडितलाई आपत्कालीन रुपमा उपचार गर्नुपरेमा स्वास्थ्य चौकीमा औषधिको निःशुल्क व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  १० : ३४ बजे