१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नाक, कान, घाँटीको क्यान्सर हुँदा के हुन्छ ? कारण सहित



मायादेवी अनलाइन ।
नाक, कान, घाँटीको क्यान्सरको चर्चा अन्य क्यान्सरको तुलनामा कम भएको पाइन्छ । यद्यपि यी क्यान्सर रोगीको संख्या पनि कम नभएको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालकी डा. दिभा श्रेष्ठ बताउँछिन् । सामान्यतया मानिसको शरीरमा कोशिकाको साधारण विभाजन हुन्छ । क्यान्सरमा अनियन्त्रित कोशिकाको वृद्धि हुन्छ । त्यो फ्याक्टरलाई चाहेर पनि रोक्न सकिँदैन । डा.दिभाका अनुसार शरीरको अन्य क्यान्सरजस्तै हो, यो क्यान्सर पनि । यसमा एउटा मात्र कारण होइन विभिन्न कारण समावेश हुन्छन् ।
क्यान्सर हुने कारण
चुरोट, तमाखु, बिडी, गुट्खा, पान पराग, रक्सी सेवन आदिका कारणले क्यान्सर हुन्छ । अर्को कारण जिन पनि हो । त्यसैगरी खानेकुराबाट पनि क्यान्सर हुन्छ । कार्सिनोजेनिक खाना
(क्यान्सर गराउने खाद्य तत्व) ले गर्दा पनि क्यान्सर हुनसक्छ । धेरै पिरो तथा पोलेका खानेकुराबाट क्यान्सर लाग्ने सम्भावना हुन्छ ।
मुखको क्यान्सर
कहिलेकाहीँ मुखको घाउ लामो समयसम्म निको नभए उक्त घाउ क्यान्सरमा परिणत हुनसक्छ । मुखमा घाउ हुँदा र बांगिएको दाँतले त्यो घाउमा छुँदा लामो समयसम्म मुखको घाउ निको हुँदैन । मुखभित्र सेतो दाग–धब्बा आए त्यो पनि क्यान्सरमा परिणत हुनसक्छ ।
नाकको क्यान्सर
काठको काम गर्ने मानिसलाई काठको धूलोले नाकको क्यान्सर हुनसक्छ ।
घाँटीको क्यान्सर
चुरोट खाने मानिसलाई घाँटीको क्यान्सर हुन्छ । यो क्यान्सरलाई रक्सी सेवनले थप बढावा दिन्छ ।
क्यान्सरका चरण
पहिलो चरण – यो चरणमा क्यान्सर सीमित भागमा मात्र हुन्छ । यसमा कुनै पनि अंग खेर जाँदैन । सुरुको अवस्थामा क्यान्सर सीमित भागमा मात्र भएकाले सर्जरी तथा रेडियोथेरापीबाट उपचार गर्न सकिन्छ ।
दोस्रो चरण – यो चरणमा क्यान्सर नजिकैको भागमा फिजिएको हुन्छ । यसलाई सर्जरी गरेर ठीक गर्न सकिन्छ । कुनै–कुनैमा सर्जरी तथा रेडियोथेरापी गराउनुपर्ने हुन्छ । यो चरणमा पनि क्यान्सरको उपचार सम्भव हुन्छ ।
तेस्रो चरण – यो चरणमा पुगेको क्यान्सर धेरै फैलिसकेको हुन्छ । यसमा एउटा मात्र उपचार नभई विभिन्न उपचारको आवश्यकता पर्छ । यसमा सर्जरी तथा रेडियोथेरापी, सर्जरी तथा किमोथेरापी तथा रेडियोकिमोथेरापी तथाा रेडियोकिमोथेरापीे आवश्यक पर्न सक्छ ।
चौथो चरण – यो चरणमा क्यान्सर धेरै फैलिसकेको हुन्छ । एउटामा मात्र नभएर अन्य अंगमा पनि क्यान्सर फैलिसकेको हुन्छ । रोगीको बाँच्ने सम्भावना पनि कम हुन्छ । उपचारपछि पनि पूर्णरूपमा रोग निको हुने सम्भावना कम हुन्छ । यस्ता बिरामीलाई सहज होस् भनेर सास फेर्न सजिलोका लागि ट्युबको प्रयोग तथा खाना खान सजिलोका लागि नली राखिदिएर, पीडा कम गर्न औषधि तथा रेडियोथेरापीको प्रयोग गरिन्छ । यसैगरी रगत बगेको छ भने रगतका नसाहरू (जुन क्यान्सरको कारणले बनेका हुन्छन्) सुकाउन रेडियोथेरापी दिइन्छ ।
उमेर समूह
सामान्यतया ३० देखि ५० वर्षका मानिसमा नाक, कान, घाँटीको क्यान्सर देखापर्ने डा. दिभा बताउँछिन् । विश्वमा महिलाको तुलनामा पुरुषमा यस्तो क्यान्सर बढी पाइएको छ । पुरुषले बढी धूम्रपान तथा मद्यपान गर्ने भएकाले यस्तो भएको हो ।
कानका क्यान्सर रोगी नेपालमा कमै भेटिन्छन् । कानको क्यान्सर भए दिमागमा फैलने सम्भावना हुन्छ । घाँटीको क्यान्सर पुरुषमा नै बढी देखापरेको छ । यस्तो क्यान्सर लागेको मानिसको बोलाइको तालमा फरक हुन्छ । त्यसले बोल्ने र आवाज निकाल्ने अंगमा असर पार्छ ।
अहिले थाइराइड क्यान्सर धेरै देखिएको छ । यो क्यान्सर भने महिलामा बढी देखिन्छ ।
लक्षण
मुखको क्यान्सर स् मुखमा आएको घाउ लामो समयसम्म निको नहुनु, मुखमा अल्सर आउनु, मुख वा जिब्रोमा मासु पलाउनु, दाग–धब्बा आउनु ।
घाँटीको क्यान्सर स् आवाज धोद्रो हुनु । सास फेर्न गाह्रो हुनु, खाना निल्न गाह्रो हुनु, घाँटी सुन्निनु वा डल्लो ग्लान्ड आउनु ।
कानको क्यान्सर स् कान डम्म हुनु, कानबाट रगत आउनु, कान नसुन्नु ।
रोग लाग्न नदिन
धूम्रपान तथा मद्यपान नगर्ने । पोलेको तथा धेरै पिरो खानेकुरा नखाने । मुखमा दाग–धब्बा आए वा घाउ निको नभए समयमै चिकित्सकको सल्लाह लिने ।
उपचार
सर्जरी तथा रेडियोथेरापीबाट यसको उपचार गर्न सकिन्छ । कतिपय अवस्थामा केमोथोरापीको पनि आवश्यकता पर्छ । समयमै अर्थात् सुरुवातको अवस्थामा थाहा पाए क्यान्सर रोगको उपचार सर्जरीबाट सम्भव हुन्छ तसर्थ रोग लागे तुरुन्त सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ । उपचारपछि पनि नियमित चेकअप गराउनुपर्छ । यसको उपचार टिमवर्कमा गर्नुपर्छ । क्यान्सर जति खतरनाक भए पनि समयमै पत्ता लगाएर उचित उपचार भएको खण्डमा यसलाई निको पार्न सकिन्छ ।
डा. दिभा श्रेष्ठ, एम एस–इएनटी एण्ड हेड एण्ड नेक सर्जन, एआईआईमएस, इन्डिया
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, सिनामंगल (स्रोत नारी मासिक)

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  २ : ३९ बजे