८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पत्रकार महासंघको महाधिवेशन आजदेखि सुरु



काठमाडौं, ४ भदौ, ।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आजदेखि सुरु भएकोछ । ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौंमा महाधिवेशन सुरु भएको हो । महाधिवेशनको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्नुभएको थियो ।
महाधिवेशन ४ गतेदेखि ६ गतेसम्म चल्नेछ । करिब १० हजार पत्रकार आवद्ध रहेको महासंघको महाधिवेशनमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् । यिनै प्रतिनिधिहरुले मतदान गरेर नयाँ नेतृत्व छान्ने छन् । नयाँ नेतृत्वका लागि प्रत्येक ३ वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । पहिलोपटक संघीय संरचनाअनुसार नेतृत्व चयन गर्न लागेको महासंले महाधिवेशनमार्फत अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, ५ सचिव, १ कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वा्चित गर्नेछ ।
त्यसैगरी, सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान, एशोसिएटमा समेत नयाँ नेतृत्व आउनेछ । नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य खडा भएका छन् भने एमालेनिकट प्रेस चौतारीले तीर्थ कोइरालालाई अघि सारेको छ । प्रेस चौतारीलाई नयाँ शक्तिलगायत साना संगठनको समर्थन रहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  ५ : ५३ बजे