१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रोल्पाका ६० प्रतिशत जनता टेलिफोनको पहुँचमा



रोल्पा, ५ भदौ ।
दुर्गम पहाडी जिल्ला रोल्पाका ६० प्रतिशतभन्दा बढी जनता टेलिफोन सेवाको पहुँचमा रहेको नेपाल टेलिकम रोल्पाले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न पाँच स्थानमा विस्तार गरिएको टेलिफोन टावरसँगै सेवा विस्तार भएको कार्यालय प्रमुख कैलाश आचार्यले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा जिल्लाका सिर्प, जेल्वाङ, होलेरी, भावाङ र लिवाङमा नयाँ टावर स्थापना गरिएसँगै सेवामा सुधारसमेत भएको हो ।
चालु आवमा थप छ स्थानमा नयाँ टावर थप्ने कार्यक्रम रहेकाले जिल्लामा टेलिफोनको पहुँचमा ८० प्रतिशत जनता पुग्ने टेलिकमले जनाएको छ ।
यसैगरी नेपाल टेलिकमले जिल्लाका सिर्प र जेल्वाङमा एक हजार ५८० सिम निःशुल्क वितरण गरेको छ । जनताले निःशुल्क सिम माग गरेपछि क्षेत्रीय निर्देशकको अनुगमनपश्चात् आवश्यकता महसुस गरी निःशुल्क वितरण गरेको बताइएको छ । जनताको माग भएमा चालु आर्थिक वर्षमा पनि अझ केही सिम निःशुल्क बाँडिने आचार्यले बताउनुभयो । रासस

प्रकाशित मिति : ५ भाद्र २०७४ सोमबार ००:००  ८ : ४३ बजे