१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

निगमले खरिद गरेको जग्गाको संसदिय टोलीबाट अनुगमन



भुवन पाण्डे, भैरहवा, ७ भाद्र ।
आयल निगमले रुपन्देहीमा खरिद गरेको जग्गामा अनियमिता पाइएको उद्योग बाणिज्य उपभोत्ता हित संरक्षण समिति अन्तरगत आपूर्ति तथा उपभोत्ता हित संबन्ध उपसमितिले जनाएको छ ।
अनुगमनका क्रममा भैरहवा आएको समितिले खोलाले कटान गरेको जग्गा चलन चल्तीको भाउ भन्दा बढीमा निगमले खरिद गरेको जनाएको छ ।

बास्तविक जग्गाधनीलाई वेवास्था गर्दै निगमले एजेन्ट मार्फत जग्गा खरिद गर्दा प्रचलित दररेट भन्दा कयौं गुणा बढी रकम तिरेको समितिको ठहर छ ।

समितिले जग्गा खरिदको प्रक्रिया, त्यसमा संलग्न ब्यक्ति, सरोकार निकाय र आवश्यक कागजपत्रको सुक्ष्म अनुसन्धान गरी एक हप्ता भित्रमा संसदमा प्रतिवेदन बुझाउने समितिका संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो ।

निगमले एजेन्टहरु सँग मिलेर करौडौँ भष्टचार गरेको भन्दै स्थानीय जनता तथा जनप्रतिनिधीहरुले कारवाहीको माग गरेका छन् । १४ बिगाहा जग्गा पास गरिसकेको निगमले थप जग्गा प्राप्ति गर्न माफियाहरुबाट स्थानीयलाई डर धम्की देखाइ कब्जा गर्न खोजेको स्थानीयले गुनासो गरे ।
जग्गा प्राप्ती ऐन २०३४ बमोजिम खरिद गर्नुपर्नेमा निगमद्वारा सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक प्रशासन तथा खरिद सम्बन्धित विनियमावली २०६४ बमोजिम बोलपत्रको माध्यमबाट प्रक्रिया अगाडि बढाउनु पर्नेमा विधि र प्रकृया नै त्रुटिपूर्ण भएको ठहर समितिले गरेको छ ।
रूपन्देहीको साविकका धकधई, पट्खौली र बसन्तपुर गाविसमा करिब साढे १४ विगहा जग्गा निगमले गएको असारमा खरिद गरेको थियो ।
आयल निगमले खरिद गरेको १४ कठ्ठा जग्गा बगर हो । जहाँ पहिला रोहिणी नदी बग्दथ्यो । त्यही नदीले पश्चिमतर्फ कटान गरेपछि पूर्वतर्फ बगर बनेको थियो ।
ओमसतिया गाउँपालिका वडा नं ४ र ५ मा पर्ने रोहणी नदी किनारको चल्तीको न्यूनतम मूल्य साढे एक लाखदेखि तीन लाख रूपैयाँ पर्दछ ।
तर निगमले दश देखि १३ लाख रूपैयाँमा खरिद गरेको छ । निगमले एक सय चार कित्ता जग्गा ३१ करोड ४० लाख ७९ हजार २० रूपैयाँमा खरिद गरेको मालपोत कार्यालय, भैरहवाको रेकर्डमा छ ।

प्रकाशित मिति : ७ भाद्र २०७४ बुधबार ००:००  २ : ३६ बजे