१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

दाङमा भाइरल संक्रमणका बिरामी बढे



दाङ, ९ भदौ ।
दाङमा रुघाखोकी, ज्वरो, टाइफाइड र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा परेको अविरल वर्षासँगै विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापरेको छ ।
जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा भाइरल ज्वरो, हेपाटाइटिस, पखाला र जण्डिसजस्ता रोगका बिरामीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको अस्पतालले जनाएको छ ।
जिल्लामा उपक्षेत्रीय अस्पताल घोराही, अञ्चल अस्पताल तुलसीपुर, देउखुरीको लमही अस्पताल, स्वास्थ्य चौकी र गाउँ गाउँमा रहेका निजी क्लिनिकमा विशेषगरी भाइरल ज्वरोका बिरामी धेरै रहेका छन् । अहिले देखिएको समस्या मौसमी भएको भन्दै राप्ती उपक्षेत्रीय अस्पतालका डा जितनारायण यादवले विशेष ख्याल गर्न सुझाव दिनुभएको छ ।
स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न, तातो र झोल वस्तुहरु खान र आराम गर्न उहाँको सुझाव छ । वर्षा पछिको वातावरणसँगै दूषित पानीले स्वास्थ्य समस्या निम्त्याएको भन्दै उहाँले स्वास्थ्य जाँच गर्नमा खेलबाड नगर्न बिरामीलाई आग्रह गर्नुभएको छ ।
हाल दैनिक २०० भन्दा बढी भाइरलका बिरामीहरु अस्पतालमा आउने गरेको डा सुबोध शर्माले जानकारी दिनुभएको छ । रासस

प्रकाशित मिति : ९ भाद्र २०७४ शुक्रबार ००:००  ४ : ०३ बजे