१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

पाल्पामा ‘शून्य होम डेलीभरी’ अभियान संचालन



रामपुर (पाल्पा), ११ भदौ ।
घरमै सुत्केरी हुने महिलाको अवस्थालाई कम गरी शून्यमा झार्न जिल्ला जनस्वास्थ्य कार्यालयले ‘शून्य होमडेलीभरी’ अभियान संचालन गरेको छ ।
घरमै सुत्केरी हुने महिलाको संख्यालाई शून्य दरमा झार्न र स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुनुपर्छ भन्ने मान्यता र चेतना वृद्धि गर्न ‘शून्य होमडेलीभरी’ अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
घरमै बसेर बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरुमा विभिन्न समस्याले सुत्केरीपछि पनि सताइरहने हुँदा घरमै सुत्केरी हुने प्रथालाई निरुत्साहित गर्नका लागि जिल्लाभरी नै यो अभियान जारी रहेको छ ।
अभियान सफल बनाउन विभिन्न स्वास्थ्य संघ संस्था, स्वास्थ्यकर्मी, स्वयंसेवक एवं सरोकारवाला निकाय लागिपरेका छन् । अहिले पाल्पा जिल्लामा करिब ८५ प्रतिशत भन्दा बढी महिला स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुने गरेको पाइएको छ ।
अझै पनि जिल्लामा १५ प्रतिशत महिला घरमै सुत्केरी हुने गर्छन् । घरमै सुत्केरी हुने महिलाको अवस्थालाई शून्य दरमा ल्याउनका लागि कार्यालयले ‘शून्य होमडेलीभरी’ अभियान संचालन गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसँगै गाउँगाउँमा संचालनमा रहेका २० स्वास्थ्य चौकी गरी जिल्लाभरीमा कूल २५ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा सुविधा प्रदान गर्दै आइरहेको कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : ११ भाद्र २०७४ आइतबार ००:००  १ : ५६ बजे