१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्रदेश नम्बर २ का सबै स्थानीय तहमा आज निर्वाचन कार्यालय खुल्दै



काठमाडौं, भदौ १२ ।
आउँदो असोज २ गते स्थानीय तहको चुनाव हुने प्रदेश नम्बर २ का सबै नगरपालिका र गाउँपालिकामा आज निर्वाचन कार्यालय खुल्दैछन् । १३६ वटै स्थानीय तहमा आज निर्वाचन कार्यालय स्थापना हुने निर्वाचन आयोगले जनाएको छ ।
सबै जिल्ला सदरमुकाममा गएको ७ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भैसकेको छ ।
सबै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना भएपछि चुनावी गतिविधि बढ्ने भएको छ । २ नम्बर प्रदेशमा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५८ वटा गाउँपालिका छन् ।
यसमध्ये ९ वटा स्थानीय तह पछि थपिएका हुन् । थपिएका स्थानीय तहमा मतदाताको नाम र ठेगाना सच्याउने काम भैरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
आयोगले मतपत्र, मतपेटिका लगायत आवश्यक सामग्री यसअघि नै जिल्लामा पठाइसकेको छ ।
आउँदो १५ गतेदेखि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने आयोगको तयारी छ । चुनाव नजिकिँदै गर्दा २ नम्बर प्रदेशमा राजनीतिक दलहरुले प्रचार अभियानलाई तिव्रता दिएका छन् । केही दलहरुले उम्मेदवारको समेत टुंगो लगाइसकेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  ४ : ५२ बजे