१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पर्वतमा भाइरल ज्वरोका बिरामी बढे



पर्वत, भदौ १२ ।
केही दिनयता जिल्ला अस्पताल पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । अहिले जिल्ला अस्पताल पर्वतमा दैनिक १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत दुई सातादेखि अस्पताल आउने बिरामीको संख्यामा तेब्बरले वृद्धि भएको छ ।

अस्पताल आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका छन् । स्वास्थ्य कार्यालयअनुसार भाइरल ज्वरोको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । बालबालिकासँगै एकै घरबाट चार पाँच जना बिरामी उपचारका लागि अस्पताल आउने गरेको जिल्ला अस्पताल पर्वतका प्रमुख डा वुद्धिबहादुर थापाले जानकारी दिनुभयो । वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको छ ।

दूषित पानी र प्रदूषित हावाहुरीका कारण भाइरल ज्वरोको प्रकोप बढेको हुनसक्ने अस्पतालका डा थापाले जानकारी दिनुभयो । यसबाट बच्न दूषित खानेपानी प्रयोग नगर्न र कुनै कारणवस संक्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन डा थापाको सुझाव छ ।

१५ श्ययाको क्षमता रहेको अस्पतालमा अहिले वैकल्पिक श्ययाको व्यवस्था गरेर बिरामी भर्ना गरिएको छ ।

गाउँ÷गाउँमा पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबिसै घण्टा खटिन निर्देशन दिइको छ । जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमासमेत भाइरल ज्वरोका बिरामीको संख्या बढेको जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  ७ : ५१ बजे