१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बजार अनुगमन गर्न प्रशासन तात्यो, अर्घाखाँचीका गाउँगाउँमा अनुगमन



अर्घाखाँची, १८ भदौ ।
विगतका वर्षहरुमा सहरी क्षेत्रमा अनुगमन गर्ने, गाउँमा अनुगमन हुँदैन भन्ने आम जनताको गुनासो हुन्थ्यो । तर, यसपटकबाट प्रशासनले यस्ता गुनासो आउन नदिन अनुगमन थालेको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले ग्रामिण क्षेत्रमा पुगेर अनुगमन सुरु गरेको हो ।

नेपालीहरुका महान चाडपर्वहरु नजिकिँदै जाँदा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले शुक्रबार देखि अनुगमन सुरु गरेको हो । जिल्ला प्रशसनको अनुगमन समितिले भुमिकास्थान नगरपालिकाका विभिन्न ग्रामीण बजारमा अनुगमन गरेको छ ।

नगरपालिकाको पकले, धारापानी, ढाकावाङ्ग बजार क्षेत्रमा अनुगमन गरिएको छ, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बताउनुभयो ।

प्रशासन सँग–सँगै जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग वाणिज्य संघबाट पनि अनुगमनमा प्रतिनिधित्व रहेको थियो । शुक्रबार २५ भन्दा बढी पसलमा गरेको अनुगमनबाट म्याद नाघेका वस्तुहरू जफत गरिएको छ ।

यस्ता म्याद नाघेका खाद्य तथा लोक्ल रक्सी पेय पदार्थ नराख्नका लागि निर्देशन र सचेतना गराएको सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । अनुगमनका क्रममा नियमानुसार दर्ता गरी सञ्चालन गर्न पनि व्यापारीलाई प्रशासनले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७४ आइतबार ००:००  २ : ३४ बजे