१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दुई नं. प्रदेशमा मनोनयन दर्ता शान्तिपूर्णः निर्वाचन आयोग



२१ भदौ, काठमाडौं ।
निर्वाचन आयोगले २ नं. प्रदेशमा तेस्रो चरणको स्थानीय तह चुनावका लागि बुधबार उम्मेदवार मनोनयन दर्ता उत्साहपूर्ण रुपमा भइरहेको जनाएको छ ।
प्रदेश नम्बर २ का ८ वटा जिल्लामा रहेका १३६ वटै स्थानीय तहका विभिन्न पदमा उम्मेद्वारी मनोनयन दर्ता कार्य उत्साहपूर्णरुपमा भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
बुधबार बिहान १० बजेदेखि आठ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेद्वारी मनोनयन दर्ता गराउन फाराम लिने तथा दर्ता गर्नेहरुको भीड लागेको कार्यालयले जनाएको छ ।
उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्णरुपमा भइरहेको प्रवक्ता ढकालले जानकारी दिए ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयनको समय तोकिएको हो ।
साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । यस निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वा्चित हुने छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७४ बुधबार ००:००  ७ : ३६ बजे