६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

१४ औं निजामती सेवा दिवस मनाईंदै



काठमाडौं, २२ भदौ ।
‘निजामती कर्मचारीको प्रतिवद्धता ः पारदर्शिता र चुस्तता’ भन्ने नाराका साथ बिहीबार १४ औं निजामती सेवा दिवस मनाईंदैछ । नेपालमा वि.सं २०१३ सालमा सालमा निजामती सेवा सुरु भएपनि दिन मनाउन थालिएको १३ वर्ष पूरा भएको हो ।
निजामती सेवा ऐन, २०४९ लागु भएको छ । तर हरेक वर्ष दिवस मनाउँदै आएपनि निजामती सेवा परिणाममुखी र जनमुखी बन्न नसकेको सेवाग्राहीको गुनासो छ । दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा प्रभावकारिता, राज्यका तीन वटै तहमा सेवा प्रवाहको सुनिश्चितता र नागरिकप्रतिको जवाफदेहिता बढाउन आग्रह गर्नुभएको छ ।
यस्तै सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले शुभकामना सन्देशमा संघीयता कायान्वयनमा निजामती कर्मचारीको भूमिका महत्वपूर्ण रहेको भन्दै सिंहदरबारको अधिकार गाउँरनगरमा र्पुयाउन सहयोग गर्न आग्रह गर्नुभएको छ । यसैगरी मन्त्रालयका राज्यमन्त्री ओङदी शेर्पाले निजामती कर्मचारीले आफूलाई नागरिक मैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ । यस्तै सरकारले दिवसको अवसरमा यो वर्ष उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई निजामती सेवा पुरस्कार दिँदैछ ।
उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो । उहाँका अनुसार दुई लाख राशिको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ भने यो वर्ष कसैलाई पनि दिइँदैन । सर्वोत्कृष्टका लागि नाम आए पनि उपयुक्त नठानिएकाले नदिइएको उहाँको भनाई छ ।
सहसचिव दीपक सुवेदी, सहसचिव डिल्लीराज घिमिरे, सहसचिव केवलप्रसाद भण्डारी, उपसचिव प्रेमलाल लामिछाने, महालेखा परीक्षकको कार्यालयका निर्देशक इन्द्रप्रसाद आचार्य, उपसचिव जीवनप्रसाद सेढाईं, उपसचिव जगन्नाथ बराल, उपसचिव लक्ष्मीदत्त कलौनी, उपरजिस्ट्रार प्रल्हादकुमार योगी र सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी अनिल खनाललाई एक लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार अनुकूल समयमा प्रदान गरिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता न्यौपानेले बताउनुभयो ।

 

प्रकाशित मिति : २२ भाद्र २०७४ बिहिबार ००:००  २ : ५० बजे