१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मन्त्रीपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा, राप्रपा प्रजातान्त्रिक पनि सरकारमा



काठमाडौं, भदौ २५ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।
राप्रपा प्रजातान्त्रिकका तर्फबाट मन्त्री थप गरेर सरकार विस्तार गर्ने तयारी भइरहेको हो । राप्रपा प्रजातान्त्रिकले ४ वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्रीले ३ वटा मन्त्रालय दिएर मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको हो ।
यसबारे राप्रपा प्रजातान्त्रिकसँग छलफल भइरहेको तर मन्त्रीपरिषद् आजै कि भोलि विस्तार हुने भन्ने टुंगो लागिनसकेको प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले सुनिल थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा, दिपक बोहोरा मध्येबाटै मन्त्री बनाउने तयारी गर्नुभएको छ ।
तीन जना मात्र मन्त्री भए पनि सरकारमा सहभागी हुने मनस्थितिमा रहेको राप्रपा प्रजातान्त्रिकले ती मन्त्रालयमा राज्यमन्त्री पनि नियुक्त गर्नुपर्ने माग गरेको छ । तर प्रधानमन्त्री देउवाले अहिले राज्य मन्त्री नियुक्त नगर्ने अडान राख्नुभएको श्रोतले बतायो ।
प्रधानमन्त्री देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालयमध्येबाट ३ मन्त्रालय राप्रपा प्रजातान्त्रिकलाई दिने तयारी गर्नुभएको छ । मन्त्रीपरिषद्मा अहिले प्रधानमन्त्री, ३ जना उपप्रधानमन्त्री, २६ जना मन्त्री र २३ जना राज्यमन्त्री गरी ५० सदस्यीय जम्बो मन्त्रीपरिषद रहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७४ आइतबार ००:००  ५ : ३६ बजे