१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ग्रामिण तह सम्म भ्रष्टाचार बिरुद्धको अभियान



अर्जुन भुसाल, अर्घाखाँची २६ भाद्र ।
अर्घाखाँचीका विभिन्न संघ संस्थाहरुले भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियानलाई ग्रामिण तह सम्म पु¥याएका छन् । सुशासनको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु र प्रशासनलाई अभियानको बारेमा जानकारी गराएका छन् । मानव अधिकार तथा सुशासनको क्षेत्रमा कार्यरत संस्था इन्सेक र एकिकृत ग्रामीण विकास समाज अर्घाखाँचीले अभियान सञ्चालन गरेका हुन । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरुले भ्रष्टाचार नगर्ने र आफू मातहतलाई पनि गर्न नदिने प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसालले विकास निर्माणका काममा भएको चरम अनियमिताका कारण मुलुक धेरै पछाडी धकेलिएको भन्दै संस्थागत रुपमा मौलाएको भ्रष्टाचारलाई जरै देखि उखेलेर फाल्नु पर्ने औंल्याए । ‘मैले ६ वटै स्थानीय तहमा भएका काम कारवाहीको सुष्म ढंगले अध्ययन गर्दै जानेछु’ उनले भने, ‘कसैले कहिँकतै भ्रष्टाचार गरेको पाइएमा कारवाहीको दायरामा ल्याउन हामी पछि पर्नेछैनौं ।’ सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले सन्धिखर्क नगरपालिकालाई सुशासनयुक्त नगरको रुपमा परिणत गर्न आफूहरु लागि परेको बताए । ‘भ्रष्टाचार भएमा सन्धिखर्क सुन्दर र समृद्ध बन्न सक्दैन’ उनले भने, ‘हाम्रा योजनाहरु सफल पार्नका लागि अनियमितता र भ्रष्टाचारको अन्य अपरिहार्य छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद भुसालले राजनीति र कर्मचारीतन्त्रबाट हुने भ्रष्टाचारका कारण मुलुकले विकासको गति लिन नसकेको बताए । ‘भ्रष्टाचार गर्नु अपराध हो भन्ने भावनाको विकास सबैमा हुन जरुरी छ’ उनले भने, ‘भ्रष्टचारीलाई कडा कारवाही गर्ने खालको कानुनको आवश्यकता छ ।’मुलुकमा भ्रष्टाचार मौलाउँदै जाँदा हरेक क्षेत्रमा असर परेकाले अभियान सञ्चालन गर्नु परेको इन्सेकका जिल्ला प्रतिनिधि नारायण भुसालले बताए । उनले जिल्लाका सबै स्थानीय तहमा अभियान सञ्चालन गरिरहेको जानकारी दिए । ग्रामीण विकास तथा पारस्परिक जवाफदेहिता परियोजना जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले जनप्रतिनिधिहरु भ्रष्टाचार विरुद्ध प्रतिवद्ध भइ हस्ताक्षर गरेको बताए । उनले अभियान सञ्चालन गरेका सबै स्थानीय तहका जनप्रतिनिधिहरु अभियानबाट प्रभावित भएको पाइएको बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७४ सोमबार ००:००  ७ : ०९ बजे