१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नगरकै संरक्षणमा अबैध मासु पसल सञ्चालनमा



भुवन पाण्डे, भैरहवा, २९ भदौ ।
रुपन्देहीका मासु व्यवसायीहरुले सरकारले तोकेको सामान्य मापदण्ड पनि पालना नगरेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।
रुपन्देही मासु व्यवसायी संघको वार्षिक साधारण सभामा सहभागीहरुले अधिकांश व्यापारीहरुले मुल्य सूचि नटाँस्ने, मासु डि फ्रिजमा नराख्ने, मासु काटदा प्रयोग गर्ने औजारहरु सफा नगर्ने गरेको बताए ।
चाड पर्व नजिकिदै गर्दा उपभोक्ताहरु अस्वस्थकर मासु खान बाध्य छन् । अनुगमनको जिम्मा पाएका निकायहरु बिना दर्ता व्यवसाय सञ्चालन गर्दा पनि कुनै कारवाही गर्न सकेको छैन् ।
नगरपालिका भित्र रहेका मासु पसलहरु व्यवस्थीत गर्ने भन्दै सिद्धार्थनगरपालिकाले मापदण्डनै बनाएको छ ।
तर अनुगमन प्रवाहकारी नहुँदा नगरभित्रै दर्ता नगरी थुप्रै मासु पसल सञ्चालनमा छन् । रुपन्देही मासु व्यवसायी संघमा अहिले एक सय ६६ जना व्यवसायीहरु आबद्ध रहेका छन् ।
सिद्धार्थनगर नगरपालिका भित्र मात्रै ७१ जना व्यवसायीहरुले कुनै स्वीकृती बिनै मासु व्यवसाय सञ्चालन गरिरहेको संघका अध्यक्ष हजदार मियाले बताउनुभयो । प्रत्येक वर्ष गरिने अनुगमनमा कारवाही नगरी सामान्य चेतावनी दिएर छाडिने हुँदा दर्ता नगरेका व्यवसायीहरुलाई झन प्रोत्साहन मिलेको छ ।
सिद्धार्थनगर नगरपालिकाका सामाजिक बिकास अधिकृत शेखर पन्थीका अनुसार नगरपालिकाले नगरका मासु पसलहरुलाई व्यवस्थीत गरि स्वच्छ र स्वस्थकर मासु उपभोक्तालाई दिलाउन नयाँ मापदण्ड बनाएको जानकारी दिनुभयो । नगरपालिकाले राजमार्ग क्षेत्र र नगरका मुख्य मुख्य सडक किनारमा मासु पसल सञ्चालनमा निषेध गरेको छ ।
स्वस्थ्यकर मासु बिक्रि गर्नुपर्ने, पसलमा सिसा र जाली लगाउनु पर्ने, पसलमा उत्पादीत फोहोर मैलो आफै व्यवस्थीत गर्नुपर्ने लगायत पालना गर्नुपर्ने मापदण्ड बनाएको अधिकृत पन्थीले जानकारीदिनु भयो । साधारण सभामा बोल्दै पशु क्वारेन्टाइन चेक पोष्ट बेलहियाका अधिकृत डा. प्रवेश शर्माले मासु बध गरिसकेपछि लगत्तै मासु डि फ्रिजमा राख्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २९ भाद्र २०७४ बिहिबार ००:००  ४ : २२ बजे