८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बाढीले गैँडाका धेरै बच्चा बगाएको अनुमान



चितवन, ३० भदौ ।
साउन अन्तिम साता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ ।

सन् २०१५ मा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिएको थियो । चार वर्षको फरकमा गैँडा गणना गरिँदै आएको छ ।

बाढीको ठूलो प्रभावका कारण अवस्था पहिचान गर्न तीन वर्षमा नै गणनाको प्रस्ताव गर्न लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार वास्तविक अवस्था थाहा हुन नसके पनि गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ ।

एक वर्षमा ५० हाराहारी बच्चा जन्मने गरेको भन्दै उहाँले माउलाई समेत धेरै टाढा नदीले बगाएर पु¥याएको बताउनुभयो । बाढीका कारण प्रत्यक्षरुपमा तीन गैँडा मरेका थिए भने एउटा बाढीपछि घाँसको अभावमा चर्ने क्रममा जुधेर मरेको थियो ।

बाढीले बाघसमेत बगाएको प्रत्यक्षदर्शीले जनाएको भन्दै उहाँले यसै मंसिरमा बाघ गणना गरिने भएकाले बाघको वास्तविक तथ्यांक आउने बताउनुभयो । बाढीले मांसाहारीका आहारा प्रजातिका जरायो, लगुना, मृग, बँदेल, चित्तलजस्ता जनावर एक हजारभन्दा बढी मरेको अनुमान गरिएको छ ।

बाढीबाट निकुञ्जको समग्र पर्या–पर्यावरण खलबलिएपछि यसलाई पूर्ववत् अवस्थामा ल्याउन निकुञ्ज र दातृ निकायसँग छलफल शुरु भएको कँडेलले बताउनुभयो ।

प्रकाशित मिति : ३० भाद्र २०७४ शुक्रबार ००:००  ११ : १२ बजे