१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मिठाई बिक्रीमा ठगि गर्नेलाई कारबाही



लक्ष्मण पोखरेल, बुटवल, २ असोज ।
दशै नजिकिै गर्दा भएको अनुगमन टोलीले बुटवल आसपासका क्षेत्रमा सञ्चालित होटल तथा खुद्रा किराना व्यवसायीले लेवल विना तथा म्याद गुज्रेका सामानहरु समेत नष्ट गरेको छ ।
मिठाईमा तौल ठगी गर्ने मिष्ठान्न भण्डारलाई जरिवाना गरिएको छ । बुटवलको ट्राफिकचोकमा रहेको गणपति मिष्ठान्न भण्डारलाई एक हजार जरिवाना गरिएको हो ।

मिठाई विक्रीका क्रममा तौलमा ठगि गरेको इलाका प्रहरी कार्यालय बुटवलले फेला पारेपछि गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बुटवलमा बुझाएको थियो । कार्यालयले मिष्ठान्नका सञ्चालक किशोर गौतमलाई एक हजार जरिवाना गराएको हो ।

करिव सात सय रुपैयासम्म पर्ने मिठाईमा एक किलो तौलमा झण्डै सय ग्राम कम दिएको बताइएको छ । प्याकेटको तौल सहित मिठाई बिक्री गरिएको भेटिएपछि कारबाही गरिएको हो ।
जिल्ला अनुगमन समितिले समेत बुटवलको केही पसलबाट म्याद नाघेका बस्तुहरु नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

अनुगमन समितिले बुटवलको होटल कस्तुरीमा गरेको अनुगमनका क्रममा होटलको भान्सा सफा नभएको भेटिएको थियो । साथै होटलमा म्याद गुज्रेका फेन्टा बिक्रीको लागि फ्रिजमा भेटिएको थियो । अनुगमन टोलीले बुटवल १२ स्थित द तारा होटल, सालझण्डीमा रहेको रेड चिल्ली रेष्टुरेन्ट एण्ड लज तथा त्रिमुर्ती होटलमा समेत अनुगमन गरेको थियो ।

अधिकांश होटलले सरसफाईमा ध्यान नदिएकाले पहिलो चरणमा सचेतनाका साथै सातादिन भित्र सरसफाई गर्ने गरी चेतावनी दिइएको समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।

अनुगमनका क्रममा बाग्लुङ किराना पसल सैनामैना, प्रमिणा किराना पसल सैनामैनामा गरेको अनुगमनमा पनि लेबल बिनाका पाउरोटी, किरा परेको राजमा र बोडिको दाल भेटाएको थियो । अधिकांश स्थानमा कोल्ड ड्रिङस कोक, फेन्टा र स्प्राईट म्याद गुज्रेको भेटिएपछि जफद गरेर नष्ट गरिएको छ ।

वाणिज्य कार्यालय भैरहवाका प्रमुख बेद प्रकाश उपाध्यायले उपभोक्ता सचेत भएमा गुणस्तरिय वस्तुको प्रयोग बढ्ने बताउनुभयो । उहाले उपभोक्ता हित विपरीत काम भए कारबाहीमा पछि नपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २ आश्विन २०७४ सोमबार ००:००  १ : ४६ बजे