२८ मंसिर २०८१, शुक्रबार | Sat Dec 14 2024

अमेरिकी र रुसी विदेशमन्त्री बीच न्युयोर्कमा भेटवार्ता



न्युयोर्क, २ असोज (रासस÷एएफपी) ।
अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच आज बिहान न्युयोर्कमा भेटवार्ता भएको छ ।
उहाँहरु संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि न्युयोर्क पुग्नुभएको समाचारमा जनाइएको छ । सोही क्रममा उहाँहरुबीच भेटवार्ता भएको बताइएको छ ।
उहाँहरुबीचको भेटवार्ताको समाचार सङ्कलनका लागि त्यहाँ पुगेका पत्रकारहरुलाई भने उहाँहरुले कुनै प्रतिक्रिया दिनुभएन । तर भेट सुरु हुनु अगाडि सम्वाददाताहरुलाई तस्विर लिने अनुमति दिइएको थियो ।
सो भेटवार्तापछि रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले सम्वाददातालाई भन्नुभयो– सो भेटका क्रममा विशेषगरी सिरियामा देखिएको राजनीतिक सङ्कटका विषयमा कुराकानी भएको थियो ।
मध्यपूर्वमा देखिएको समस्या, मिन्स्क सम्झौता र सिरियामा देखिएको पछिल्लो समस्याका बारेमा सो भेटवार्ताका क्रममा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच न्युयोर्कबाट प्राप्त अर्काे एक समाचारमा यस पटकको संयुक्त राष्ट्रसंघको महासभामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुनुहुने भएको छ ।
तर उहाँका अमेरिकी समकक्षी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सो सभामा सहभागी भएर आफ्ना धारणा राख्नुहुने भएको छ ।
यस पटक राष्ट्रसंघको ७२ औं महासभाको मुख्य आकर्षण अमेरिकी राष्ट्रपति ट्रम्प हुनुहुने भएका समाचारहरु पनि विभिन्न समाचार समितिहरुले जनाएका छन् ।
उत्तर कोरियाले बारम्बार गरिरहेको आणविक परीक्षण र त्यसको जवाफमा अमेरिकी राष्ट्रपतिले दिने जवाफ वा राष्ट्रसंघले नै यस विषयमा अख्तियार गर्ने रणनीतिलाई मुख्य आकर्षणका रुपमा हेरिएको समाचारमा बताइएको छ । राष्ट्रसंघको ७२ औँ महासभा औपचारिक रुपमा यसैहप्ता सुरु हुदैछ ।

प्रकाशित मिति : २ आश्विन २०७४ सोमबार ००:००  ७ : ५० बजे