१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दसैँअघि मत गन्न नसकिने संकेत, राजनीनिक दलबिच विवादै विवाद



काठमाडौं, ४ असोज ।
निर्वाचन आयोगले चुनाव भएको पाँच दिनभित्रै सबै तहको नतिजा आइसक्ने भनेपनि त्यो असम्भव जस्तै देखिएको छ । चुनाव भएको तेस्रो दिनको बिहानसम्म कुनै पनि स्थानीय तहको अन्तिम परिणाम आएको छैन् । सोमबार मतदान सकिएपछि त्यहि दिन रात झण्डै एकदर्जन तहमा मात्रै मतगणना सुरु हुन सक्यो । धेरैजसो तहमा मंगलबार बिहान अबेरसम्म पनि मतगणना सुरु हुन सकेन् ।
विशेषगरी मतपत्रको सुरक्षाको विषयलाई लिएर तारजाली लगाउनुपर्दा धेरैजसो ठाउँमा मंगलबार बिहान मतगणना हुन सकेन र मतपरिणामा केही ढिलाई भएको पनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन् । मत गन्ने स्थानमा तार र डोरीले बारबेर गर्न नै मंगलबार बिहानको समय खर्च भएको थियो ।
वीरगञ्ज महानगरमा मतगणना निकै सुस्त
बाराका दुई वटा उपमहानगरमा पनि अत्यन्तै ढिलो गरी मतगणना भैरहेको छ । यस्तै गतिमा मतगणना जारी रहे अन्तिम मतपरिणाम आउन अझै १०र१२ दिन लाग्ने उज्यालोका बारा सहकर्मी जयनारायण यादवले जानकारी दिनुभयो । सोमबार राति नै मतगणना सुरु भएका स्थानीय तहमा पनि बुधबार बिहानसम्म जम्मा ३ हजार ३५ सय को हाराहारीमा मात्रै मतगणना भएको छ ।
‘मतगणनामा अत्यन्तै ढिला भैरहेको छ, छिटो कसरी गर्ने भनेर सोचिरहेका छौं तर स्रोतसाधनको कमी र दलहरुका कारण धेरै मतगणना छिटो हुन सकेको छैन्’ कलैया उपमहानगरपालिकाका मुख्य निर्वाचन अधिकृत ऋषेन्द्र थापाले भन्नुभयो, ‘मतपत्र जटिल छ, कहाँ कुन ठाउँमा एउटा दलको प्रतिनिधीले रेजा लगाउन भुल्छन्, फेरि सुरुबाट गन्नुपर्छ, यस्तै हिसाबले अघि बढ्दा त लाग्न सक्छ ८र१० दिन ।’ ४ ठाउँमा मतगणना भैरहेको र आफूले बढाउने कोसिस गरे पनि नसकिएको थापाले उज्यालोलाई जानकारी दिनुभयो ।
यस्तै सुस्त तरिकाले मतगणना भैरहेमा मतगणनामा खटिएका कर्मचारीले दसैँसम्म पनि फुर्सद नपाउने चिन्ता राखेको पनि कलैयाका निर्वाचन अधिकृत ऋषेन्द्र थापाले जानकारी दिनुभयो ।
स्रोत उज्यालो अनलाइन

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  २ : ३५ बजे