१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नारायणगढ मुग्लिन सडक सहज, चाडपर्व मनाउन बाहिरिनुपर्ने र राजधानीसहित अन्य जिल्ला जानुपर्ने यात्रु लाभान्वित



चितवन, ४ असोज ।
नारायणगढ मुग्लिन सडकखण्ड सहज बनेसँगै राजधानीमा रहेर चाडपर्व मनाउन बाहिरिनुपर्ने र राजधानीसहित अन्य जिल्ला जानुपर्ने यात्रु लाभान्वित भएका छन् ।
विस्तारका क्रममा रहेको सो सडकका ठाउँ–ठाउँमा पहिरो खसेपछि घण्टौँसम्म यात्रुले सडकमा बिताउनुपर्ने अवस्था थियो । सरकारी तवरबाट चाडपर्वलाई लक्षित गरी नारायणगढ मुग्लिन सडकलाई यातायात सहज बनाउन विशेष निर्देशनसँगै गत एक साता यता यात्रुले सडक सहज रुपमा पार गर्न सकेका छन् ।
यसअघि दुई दिनसम्म सडकमा नै रात बिताउनु परेका चालकहरु एक घण्टा ३० मिनेट देखि २ घण्टा ३० मिनेटसम्ममा सडक पार गर्न सकेपछि खुशी पनि भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गर्नुभएका ना१७च ५२३५ नंको कारका चालक सुवास गहतराजले एक घण्टा ३० मिनेटमा मुग्लिनबाट आँपटारी आइपुगेको बताउनुभयो ।
भरतपुरको आँपटारीमा गहतराजको पछिपछि आएको बा२ख ५१७ नंको माइक्रोका चालक माइला महर्जनलाई यो सडक पार गर्न दुई घण्टा लाग्यो । त्यसको पछि पछि आइरहेको ना६ख २४१० नंको ट्रकका चालक पुनराम विकलाई मुग्लिनबाट नारायणगढसम्म आइपुग्न २ घण्टा ३० मिनेट लागेको बताउनुभयो ।
गत भदौ २७ गते भौतिक पूर्बाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङले सो सडकको निरीक्षण गरी चाडपर्वलाई लक्षित गरेर सडक सहज बनाउन निर्देशन दिनुभएको थियो । साउन महिनाभित्र खाल्डा पुर्ने, सडक छेउमा खसेका पहिरो सफा गरी सडकमा सवारी आवागमन सहज बनाउन उहाँले निर्देशन पनि दिनुभएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  ८ : ०८ बजे