१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पाल्पामा प्रदेश तथा प्रतिनिधि सभाको चुनावी चहलपहल बढ्दो



रामपुर (पाल्पा), २४ असोज ।
आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा चहलपहल बढ्न थालेको छ । यतिबेला बजार, गाउँ तथा टोल÷टोलमा निर्वाचनका विषयमा चर्चा हुन थालेको छ ।
अहिले बजारका चोक, गाउँ, टोल, चौतारी, खुल्ला चउर, चिया पसलमा भेला भएका मतदाताले पार्टीले कस्तो व्यक्तिलाई टिकट दिदैँछ भनी चासो लिन थालेका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायतका दलले आकांक्षी उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएपछि जिल्लामा यतिबेला चुनावी सरगर्मी बढ्दै गएको हो ।
विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि गाउँ÷गाउँमा जाने तयारीमा छन् । स्थानीय तहको निर्वाचनमा मतदान गरेका यहाँका मतदाताले प्रदेश र प्रतिनिधि सभामा पनि पार्टीगत नभइ कुशल राजनीतिज्ञ, विकासप्रेमी उम्मेदवारलाई मतदान गनुपर्छ भन्ने पक्षमा छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका विभिन्न दलले कुशल राजनीतिक व्यक्तित्व भएको व्यक्तिलाई प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउनुपर्छ भन्नेमा उनीहरुको मत छ ।
निर्वाचनकै सम्बन्धमा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल यतिबेला छलफलमा जुटिरहेका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा दुई वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि चारवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  १ : ०४ बजे