नेपालगन्ज । पछिल्लो समय नेपालगन्ज र सो वरिपरिका क्षेत्रमा बाँदरको आतङ्क बढ्दै गएको छ । समुहमा रहेका बाँदरले स्थानीयका घर र पसलमा छिरेर आक्रमण गर्न थालेपछि बादर आतङ्क बढ्दै गएको हो ।
गत डेढ महिनाको अवधिमा बाँदरले आक्रमण गरेर टोकेका ४० जना घाइते उपचारका लागि भेरी अस्पताल पुगेका थिए । बाँदरलाई लखेट्ने क्रममा आक्रमणमा परी सर्वसाधारण घाइते हुने गरेका छन् ।
पछिल्लो डेढ महिनामा मात्रै बाँदरको टोकाइबाट घाइते भएका ४० सर्वसाधारण नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएको भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीको बारेमा अध्ययन गरिरहनु भएका डा. बद्री चापागाईंले बताउनुभयो ।
उहाँले नेपालगन्जमा कुकुर, बिरालो, सर्पको टोकाइबाट घाइते भई अस्पताल आउने क्रम पुरानै भएको जनाउँदै डा चापागाईंले तर, अहिले बाँदरले समेत घरघरमै पसेर मान्छेलाई टोकेको घट्नाहरु पनि दिनदिनै बढ्दै गएको बताउनुभयो । नेपालगन्ज न्युरोडका स्थानीय प्रवेज खानले बाँदरको समूह नै घरमा छिरेर नोक्सानी पुर्याउन थालेपछि धपाउन खोज्दा आक्रमण गरि टोकेर परिवारका तीन जनालाई घाइते बनाएको बताउनुभयो । उहाँले ठुलो समूहमा रहेका बाँदरहरु घरमा तथा पसलमा छिरेर नोक्सानी गर्दै आएको बताउनुभयो ।
सोही प्रकारले नेपालगन्ज ११ इदगाह रोडका रमशे सोनीले पनि बाँदरको समूहलाई घरभित्रबाट धपाउन जाँदा टोकेर घाइते बनाएको बताउनुभयो । नेपालगन्जमा रहेका बाँदरहरु समूहमा हिड्ने र सहरका विभिन्न ठाउँमा पुगेर घर तथा पसलमा छिरेर हानी नोक्सानी पुर्याउने गरेका छन् ।
स्थानीयले बाँदरको आतङ्कबाट जोगाउन उपमहानगरपालिकासँग पनि आग्रह गरेको जनाएका छन् । गत केही समययता सहरमा बाँदरको बिगबिगी रहेकाले सुरक्षित रहन अनुरोध गर्दै उपमहानगरले सोबाट स्थानीयलाई जोगाउने बारेमा योजना बनाइरहेको नेपालगन्जका नगरप्रमुख प्रशान्त विष्टले बताउनुभयो ।
उता, बाँदरले आक्रमण गरेर टोकेमा वा घाइते बनाएमा तुरुन्तै उपचारको लागि अस्पताल पुग्न चिकित्सकहरुले सुझाव दिएका छन् । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. नवीन दर्नालले गाउँमा किसानलाई बाँदरले टोकेको घटना हुने गरे पनि बजारमा बाँदरले टोकेका घटनाहरु भेरी अस्पतालका लागि नयाँ केश भएको बताउनुभयो ।
उहाँले बाँदरको टोकाइबाट घाइते बिरामीलाई जंगली जनावर मानेर रेविज विरुद्धको खोप दिनुका साथै आवश्यकताअनुसार बिरामीलाई सहजरुपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो ।











प्रतिक्रिया