१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सिमीचौर विमानस्थल निर्माणले गति लिएन, स्थानीय जहाजको प्रतिक्षामा



२४ असोज, गुल्मी ।
गुल्मीको सिमीचौरमा एक दशकदेखि भइरहेको विमानस्थलको निर्माणले अपेक्षाकृत गति लिन नसक्दा दशैंमा धुले उडानबाट धेरैको जहाज चढ्ने आशा निराशामा परिणत भएको छ ।
दशैंमा सञ्चालन गर्ने योजना भए पनि विविध समस्याले पूरा गर्न नसकिएको रेसुंगा विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तको भनाई छ । जहाजमा उड्ने सपना बोकेका जिल्लावासीका लागि विमानस्थल निर्माण कार्य तोकिएको समयमा सम्पन्न नकुदा दशैमा धुले उडान भर्ने आशा निराशामा परिणत भएको छ ।
विमानस्थल सञ्चालन हुने खबरलगत्तै जिल्लाका उद्योगी, व्यवसायी पनि हषिर्त भएका थिए । नियमित विमानस्थल सञ्चालन भए गुल्मि जिल्लाको समग्र आर्थिक विकासले फड्को मार्ने अपेक्षा लिइएको छ ।
विमानस्थल सञ्चालन भए गुल्मी सहित छिमेकी जिल्ला अर्घाखाँची, प्युठान, बागलुङ, पाल्पा र स्याङजाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन ।
विमानस्थल निर्माणको जिम्मा सुनिल समीर निर्माण सेवाले लिएको छ । विमानस्थल निर्माणका लागि हालसम्म झन्डै ११ करोड रुपैयाँ खर्च भइसकेको समितिले जनाएको छ ।
२०६३ देखि विमानस्थल निर्माण सुरु गरिए पनि निर्माण कार्य ढिलो गतिमा हुँदा समयमै निर्माण सम्पन्न हुन सकेको छैन् । नेकपा एमालेको तर्फबाट तत्कालिन पर्यटन मन्त्री प्रदीप ज्ञवालीले उक्त विमानस्थलको शिलान्यास गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ३ : ४३ बजे