१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

स्वास्थ्यकर्मी तथा सुरक्षा ऐन २०६६ संशोधन हुने



 

काठमाडौं, असोज २४ । सरकारले स्वास्थ्यकर्मी तथा सुरक्षा ऐन २०६६ सशोधन गर्ने निर्णय गरेको छ । पछिल्लो समय स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण हुने, तोडफोड, आगजनीलगायत घटना बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले ऐन संशोधन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने मागसहित मन्त्रिपरिषद्मा ऐन संशोधनका लागि प्रस्ताव गरेको थियो ।
मन्त्रालयले यही असोज ८ गते प्रमुख विशेषज्ञ डा। पुष्पा चौधरीको संयोजकत्वमा समिति गठन गरी ऐनमा संशोधन गर्नुपर्ने विषयसहितको मस्यौदा तयार पार्न निर्देशन दिएको थियो । समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्था आक्रमण गर्ने, तोडफोड गर्ने, अस्पताल बन्द गर्नेलगायत कार्य गर्नेलाई कम्तीमा तीन महिनाको कारागार सजायसहित तीन लाख रुपैयाँसम्मको जरिवाना हुुनुपर्ने प्रस्तावसहितको संशोधन मस्यौदा आइतबार स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको थियो ।
स्वास्थ्यमन्त्रीले सोमबारको मन्त्रिपरिषद बैठकमा पेस गर्नुभएको ऐन संशोधन गर्ने प्रस्ताव स्वीकृत भएको छ । स्वास्थ्यमन्त्री पोखरेलले पछिल्लो समय स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्थामा आक्रमण हुनेक्रम बढिरहेको सन्दर्भमा यसलाई रोक्न ऐन संशोधन आवश्यक भएको बताउनुभयो ।
उहाँले कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रको सातवटै प्रदेशमा शाखा खोल्ने र प्रत्येक वर्ष प्राकृतिक चिकित्सा दिवस मनाइने निर्णय पनि मन्त्रिपरिषदले गरेको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ३ : ५४ बजे