१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

क्यालिफोर्नियाको रक्सी उत्पादनका लागि प्रख्यात क्षेत्रमा भीषण आगलागी, १० जनाको मृत्यु



असोज २४ ।
अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ । क्यालिफोर्नियाको वाइन रिजन (रक्सी उत्पादनका लागि प्रख्यात) क्षेत्रमा तीब्र गतिमा फैलिएको आगोका कारण जनधनको क्षति भएको हो ।
आगलागीका कारण कम्तिमा १५ सय फार्म नष्ट भएका छन् । क्यालिफोर्नियाको नापा, सोनोमा र युवा काउन्टीका फार्म बढी प्रभावित भएका छन् । यी फार्ममा रक्सी उत्पादनका लागि चाहिने अंगुरसहितका कच्चा पदार्थ उत्पादन हुने गरेको थियो ।
आगलागी प्रभावित क्षेत्रबाट झण्डै २० हजार मानिस विस्थापित भएका छन् । यो क्यालिफोर्नियाको इतिहासमा अहिलेसम्मकै भीषण आगलागी हो । क्यालिफोर्नियाका गभर्नरले आपतकालिन अवस्था घोषणा गर्नुभएको छ ।
जंगलबाट सुरु भएको आगो नजिकै रहेका फार्ममा फैलिएको हो । आगलागीबाट धेरै घरमा क्षति पुगेको छ भने फार्म हाउसहरु नष्ट भएका छन् । अहिले आगो निभाउने प्रयास भइरहेको तर तीब्र गतिमा फैलिएकाले समस्या भएको सरकारी अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७४ मंगलबार ००:००  ३ : ५७ बजे