७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नवलपरासी कांग्रेसमा उम्मेदवारको लावालस्कर



नवलपरासी, २५ असोज ।
नेपाली कांग्रेस नवलपरासीले उम्मेदवारको लावालस्कर हुनेगरी झण्डै पौने दुइसय उम्मेदवारको नाम टिकटका लागि केन्द्रमा सिरपारीस गरेकोछ । नवलपरासी जिल्ला जिल्ला टुक्रिएपछि बर्दघाट–सुस्ता पूर्व प्रदेश नं ४ (नवलपुर क्षेत्र)बाट ११८ र पश्चिमतर्फको प्रदेश नं ५ (परासी क्षेत्र) बाट ५४ जनाको नाम सिफारिस गरिएको नेपाली काँग्रेस नवलपरासीले जनाएको छ । पूर्व र पश्चिममा दुई–दुई गरी चार निर्वाचन क्षेत्र छन् जसमा प्रतिनिधि सभाको सदस्यका लागि प्रत्यक्षतर्फ चारवटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेश सभाका लागि दुवै जिल्लामा गरी आठ निर्वाचन क्षेत्र रहेका छन् । यता नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न नवलपरासीबाट सिफारिस हुनुभएको छ । प्रतिनिधिसभामा उम्मेदवार बन्नका लागि महामन्त्री डा कोइरालाको नाम प्रदेश नं ४ मा पर्ने नवलपरासी पूर्व (बर्दघाट–सुस्ता) को निर्वाचन क्षेत्र नं १ बाट सिफारिस भएको हो ।पार्टीको प्रभावशाली नेताका रूपमा मानिनुहुने कोइरालालाई यस क्षेत्रको गौरवका रूपमा उम्मेदवारी सिफारिस गरिएको पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले जानकारी दिनुभयो । कोइराला २०६४ र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुनुहुन्छ । नवलपरासीपूर्व जिल्लाअन्तर्गत क्षेत्र नं १ नेपाली काँग्रेसको देशैभरिका केही बलिया क्षेत्रमध्ये पर्ने एक क्षेत्र हो । डा कोइरालालाई पुनः यही क्षेत्रबाट संघीय सभाको उम्मेदवार बनाउन नाम सिफारिस भएपछि महामन्त्री सोही क्षेत्रबाट निर्वाचन लड्ने र यस क्षेत्रको चौतर्फी विकास हुनेमा कार्यकर्तामा पुनः आशा पलाएको छ ।कार्यकर्तामाझ कहिल्यै नरिसाउने र बिपी पुत्र भएकै कारण डा कोइराला काँग्रेसको राजनीतिमा प्रभावशाली नेता मानिनुहुन्छ । यसैबीच, दुई दुई पटकसम्म गृह राज्यमन्त्री एवं हाल पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका देवेन्द्रराज कँडेलको नाम प्रतिनिधि सभाको सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न यसै जिल्लाबाट सिफारिस भएको छ । कँडेलको नाम नवलपरासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट सर्वसम्मत् रूपमा सिफारिस भएको हो ।यसैगरी, प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष तर्फका उम्मेदवार बन्नका लागि सांसद देवकरण प्रसाद कलवारको नाम नवलपरासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट सर्वसम्मत्रूपमा सिफारिस भएको हो । यसैगरी, प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार बन्नका लागि पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, पूर्व सांसद महेन्द्रध्वज जिसी, उद्योगपति विष्णुकुमार कार्की, नेत्री ओमकला गौतमको नाम नवलपरासी पूर्व जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट सिफारिस भएको हो । प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित दुई जिल्लामा कायम भएका नवलपरासीबाट प्रदेश सभा र प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी कूल १७२ जनाको नामावली केन्द्रमा सिफारिस गरिएको नेपाली काँग्रेस नवलपरासीका उपसभापति अर्जुनकुमार पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ३ : २४ बजे