१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कपिलवस्तुमा औषधि अभाव, बिरामी मर्कामा



कपिलवस्तु, २६ असोज ।
कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोल समेत नभएको पाइएको छ ।
अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा औषधि अभाव भएको महिनौँ बित्न लाग्दासमेत सरोकारवालाले चासो नदिएको स्थानीय बासिन्दा अब्दुल कलाम मनिहारले बताउनुभयो ।
ज्वरो आएको, टाउको दुखेकोे औषधिसमेत सेवाग्राहीले नपाउँदा बिरामी मर्कामा परेको उहाँको गुनासो रहेको छ ।
करिब दुई घण्टा हिँडेर भगवानपुर स्वास्थ्य चौकीमा गएको, तर त्यहाँ टाउको दुखेको बेला खाने सिटामोलसमेत पाउन नसकेको स्थानीय हरिराम कुर्मीले बताउनुभयो ।
बिरामी उपचारका लागि आउने गर्दछन् तर डाक्टरले भए सामान्य औषधि दिन्छन् नत्र औषधि छैन भनेर पठाउने गर्दछन् ।
पछिल्लो समयमा स्वास्थ्य चौकीमा जाने बिरामीको संख्या पनि घट्दो रहेको छ । स्वास्थ्य चौकीमा उपचार नै नहुने भएपछि सीमा क्षेत्र भएकाले भारतमै उपचार गर्न स्थानीय नागरिक जाने गरेका छन् ।
त्यस्तै, गर्भवतीलाई औषधि नहुँदा समस्या परेको छ । आइरन चक्की अतिआवश्यक औषधि भएपनि यस भगवानपुर स्वास्थ्य चौकीमा आइरन चक्की पनि छैन । सरकारले सम्पूर्ण अधिकार तथा बजेट स्थानीय तहमा पठाएको छ तर स्थानीय निकायले भने स्वास्थ्य संस्थामा औषधि पठाएका छैनन् ।

प्रकाशित मिति : २६ आश्विन २०७४ बिहिबार ००:००  १२ : ३७ बजे