२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

कपिलवस्तुमा चाडपर्व लक्षित सुरक्षा कडा, ६४ क्विक रेस्पोन्स टिम परिचालन



मायादेवी अनलाइन, कपिलवस्तु।

दसैँ, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन कपिलवस्तुमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला सुरक्षा समितिले संयुक्त सुरक्षा योजना तयार गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीका १ हजार ९ सय २० जना सुरक्षाकर्मी परिचालन गरेको छ। साथै, सम्भावित घटना तथा दुर्घटनामा तत्काल पुग्ने उद्देश्यले ६४ वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) समेत परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरीका १ हजार ७० र सशस्त्र प्रहरीका ८ सय ५० जना परिचालन गरिएका छन्। चाडपर्वका समयमा जिल्लाको शान्ति सुव्यवस्था कायम राख्न नियमित गस्ती, सीमाक्षेत्रमा निगरानी तथा संयुक्त चेकजाँचलाई तीव्रता दिइएको उनले बताए।

प्रहरीले हतियारसहितका ६४ वटा मोटरसाइकलमा क्विक रेस्पोन्स टिम परिचालन गरेको छ। प्रत्येक टोलीमा दुई जना प्रहरी रहनेछन्। जिल्लाको ९३ किलोमिटर लामो सीमाक्षेत्र तथा संवेदनशील स्थानलाई प्राथमिकतामा राखेर टोली परिचालन गरिएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए।

उनका अनुसार प्रहरी उपरीक्षकको नेतृत्वमा सुरक्षा कमान्ड गठन गरिएको छ भने ११ वटा सवारीसाधन चौबीसै घण्टा तयारी अवस्थामा राखिएका छन्। जिल्लाका २ सय ७७ स्थानमा रहेका सीसीटीभीमार्फत निगरानी गरिने र आवश्यकताअनुसार डग स्निफिङ टोलीसमेत परिचालन गरिने उनले बताए।

चाडपर्वका समयमा हुन सक्ने धार्मिक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार तथा बिक्रीवितरण, चोरी, लुटपाट, जुवातास, मादक पदार्थ तथा लागूऔषध सेवन गरी होहल्ला गर्ने गतिविधि, सवारी दुर्घटना र कालोबजारी नियन्त्रणलाई सुरक्षा योजनामा प्राथमिकता दिइएको छ।

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक गोपाल अधिकारीले चाडपर्वलाई लक्षित गर्दै सीमाक्षेत्रमा निगरानी र गस्ती बढाइएको बताए। सम्भावित घटनालाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा सुरक्षा व्यवस्था मिलाएको उनले जानकारी दिए।

यसैगरी, चाडपर्वमा यात्रुलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न जिल्लाका नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन्।

प्रहरीले चाडपर्व मनाउने तथा मूर्ति विसर्जन गर्ने क्रममा धार्मिक सद्भाव कायम राख्न, डिजे प्रयोग नगर्न, गरगहना लगाउँदा सावधानी अपनाउन र मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन आग्रह गरेको छ। शान्ति सुरक्षा कायम राख्न सञ्चारकर्मी तथा नागरिक समाजलाई समेत सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

दसैँदेखि तिहार र छठ पर्वसम्म सञ्चालन हुने सुरक्षा योजनामार्फत जिल्लामा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८३ सोमबार ००:००  ९ : १३ बजे