कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–७ स्थित रुद्रपुर चोकमा ट्रक र भ्यान एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
हुलाकी सडकखण्डमा काठमाडौंँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४००८ नम्बरको ट्रक र कृष्णनगरबाट प्युठानतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ च ०१०८ नम्बरको भ्यान ठोक्किएका हुन्।
प्रहरीका अनुसार भ्यानले ट्रकलाई बायाँतर्फबाट ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा भ्यानमा सवार बर्दियाको मधुवन नगरपालिका–७ की १४ वर्षीया हर्षिता अधिकारी, प्युठानको नौबहिनी गाउँपालिका–८ का १८ वर्षीय हिमाल परियार र ४२ वर्षीय नारायण परियार घाइते भएका छन्।
घाइतेमध्ये हर्षिताको चिउँडो र दाहिने हातमा चोट लागेको छ भने हिमालको दाहिने काँधमा चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। नारायणको टाउको, हात तथा शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको छ।
तीनै जनालाई सुरुमा चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल लगिएको थियो। त्यसपछि थप उपचारका लागि दिउँसो १२ः५० बजे रुपन्देहीको बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई इलाका प्रहरी कार्यालय बहादुरगन्जले नियन्त्रणमा लिएको छ।











प्रतिक्रिया