६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

भारतको दिल्लीबाट नेपाली युवतीको उद्धार



सीताराम चौधरी, कृष्णनगर, ३१ असोज ।
मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था शान्ति पुनस्र्थापना गृह कृष्णनगरले भारतको दिल्लीबाट कपिलवस्तुकी एक युवतीको उद्धार गरी नेपाल फर्काएको छ ।
भारतको दिल्लीस्थित देशभक्त आवाजको समन्वयमा पीआरसीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका घर भएकी ३५ वर्षे युवतीलाई नेपाल फर्काउन सफल भएको पीआरसी कृष्णनगर संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।
झण्डै एक महिनादेखि परिवारसँग सम्पर्कविहीन रहेकी युवती विचौलियाको प्रलोभनमा परी भारतको दिल्ली पुगेकी हुन् । रोजगारीका लागि काठमाडौं बस्दै आएकी युवती मोटो रकम कमाउने चक्करमा भागेर दिल्ली पुगेको पीआरसी संयोजक भट्टराईले बताए । भारतबाट नेपाल फर्काएकी युवतीलाई इलाका प्रहरी कार्यालय कृष्णनगरको जिम्मा लगाएको भट्टराईको भनाई छ ।
उद्धार गरिएकी युवतीलाई इलाका प्रहरी कार्यालयले परिवारको जिम्मा लगाई घर फिर्ता पठाएको प्रहरी निरीक्षक सुवास गैरेले जानकारी दिए ।
युवतीको पति जागिरको सिलसिलामा भारत बस्दै आएका छन् भने घरमा एक छोरी रहेको बताइएको छ ।

 

 

प्रकाशित मिति : ३१ आश्विन २०७४ मंगलबार ००:००  १ : २३ बजे