१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पाँच दिन सम्म मनाइने तिहार शुरु, आज पहिलो दिन काग तिहार



काठमाडौं, ३१ असोज ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मङ्गलबारबाट शुरु भएको छ । आज पहिलो दिन काग तिहार मनाइँदैछ ।
कागलाई यमराजको दूत मानेर पूजा गर्ने र मिठा परिकार खुवाउने प्रचलन छ । कागलाई खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले तिहारलाई यम पञ्चक पनि भनिन्छ । आज पहिलो दिन काग तिहारसँगै आयुर्वेद चिकित्साका पिता धनवन्तरी जयन्ती पनि मनाइन्छ ।
यसैगरी कात्तिक १ गते कुकुर तिहार र नरक चतुर्दशी, २ गते लक्ष्मी पूजा, कात्तिक ३ गते गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एवं कात्तिक ४ गते भाइटीका परेको छ । यसपटक भाइटीकाको साइत ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
कात्तिक कृष्ण त्रयोदेशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्नो दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यम पञ्चक पनि भन्ने गरिन्छ ।
धार्मिक मान्यता अनुसार वैदिक कालमा भगवान विष्णु खुसी भइ बलि राजालाई कात्तिक कृष्णपक्षका अन्तिम पाँच दिन तीनै लोकमा राज्य गर्न पाउने वरदान दिएको र त्यसको खुशियालीमा बलि राजाले आफ्नो राज्यभर दिपावली गरेको प्रसंगसँग पनि तिहारलाई जोड्ने गरिन्छ । तिहारमा घरघरमा दिपावली गरी देउँसी भैलो खेल्ने गरिन्छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७४ मंगलबार ००:००  २ : ३२ बजे