८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

लुम्बिनी अञ्चलमा म्यादी प्रहरीमा युवा युवतीको आकर्षण बढ्दो



भुवन पाण्डे, भैरहवा, १ कार्तिक ।
मंसिरमा हुने प्रतिनिधी र प्रदेशसभा चुनावका लागि लुम्बिनी अञ्चलका ६ जिल्लाबाट तीस हजार नौ सय ३७ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् ।
जसमा महिला पाँच हजार नौ सय ९९ र पुरुष २४ हजार नौ सय ३८ रहेको संघीय ईकाइ प्रहरी कार्यालय भैरहवाले जनाएको छ । सबै भन्दा बढी रुपन्देहीबाट नौ हजार ८२ जनाको आवेदन परेको छ ।
नवलपरासीबाट आठ हजार एक सय ४७, कपिलबस्तुबाट सात हजार आठ सय नौ जनाको म्यादी प्रहरी भर्नाका लागि आवेदन परेको छ । त्सस्तै पाल्पाबाट दुई हजार ६७, गुल्मीबाट दुई हजार दुई सय ४४ र अर्घाखाँचीबाट एक हजार आठ सय ८८ जनाको आवेदन परेको प्रहरी वरिष्ठ उपरिक्षक दिपक कुमार थापाले बताउनुभयो ।
भर्ना आवेदन असोज २५ देखि ३० गतेसम्म रहेको थियो । कात्र्तिक पाँच देखि आठ गतेसम्म दरखास्ट दिएकाको छनोट प्रकृया हुनेछ । छनोट भएकाको अन्तिम नजिता कात्र्तिक दश गते निस्कीने प्रहरीले जनाएको छ । छनोट भएकालाई कात्र्तिक १२ देखि २४ गतेसम्म प्रशिक्षण दिइने छ ।
५५ दिनको कार्यावधि रहने म्यादी प्रहरीको सेवासुविधा नेपाल प्रहरीको जवानसरह कायम रहने छ । प्रहरी प्रधान कार्यालयले जिल्लाहरुमा म्यादी प्रहरीको दरखास्त मात्र लिन निर्देशन दिएको छ तर कति संख्यामा राख्ने भन्नेबारे खुलाएको छैन ।
अन्य जिल्लाहरुमा दरखास्त नपरे छनोट भएका योग्य म्यादी प्रहरीलाई नजिकका जिल्लाहरुमा खटाईने छ । सरकारले देशभरबाट ९८ हजार दुई सय ६८ म्यादी प्रहरीका लागि आवेदन माग गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७४ बुधबार ००:००  १ : ३२ बजे