१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्यूठानमा वाम शक्तीहरु नजिकिदै , नेता तथा कार्यकर्ता सम्बन्ध सुधारमा जुट्दै



प्यूठान, कात्तिक ८ ।
प्यूठान जिल्ला कम्युनिष्टहरुको नर्सरीको जिल्लाको रुपमा परिचित जिल्ला हो । वि.स. २००६ सालदेखि नै प्यूठानमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । त्यसताकाका संस्थापक मोहनविक्रम सिंह अहिले पनि नेकपा मसालको महामन्त्रीको रुपमा सक्रिय छन् ।
विभिन्न टुटफुट र वैचारिक संघर्ष गर्दै अहिलेसम्म भिन्न भिन्न पार्टीको रुपमा संघर्ष गर्दै आएका कम्युनिष्टहरु अहिले भने सँगै चुनावी मैदानमा दौडिनु संयोग मात्र नभई आवश्यकता भएको जिल्लाका कम्युनिष्ट नेताहरु बताउँछन् ।
केन्द्रमा पार्टी एकीकरणको चर्चासँगै चुनावी तालमेलमा होमिएका दलहरु एक आपसमा पुराना कुराहरु भुल्न थालेका छन् । केन्द्रको समीकरणले जिल्लाका वामहरु पनि नजिक हुन थालेका हुन् । एक अर्कालाई सत्तोसराप गर्ने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता यतिबेला सम्बन्ध सुधारमा जुटेका छन् ।
२०४८ सालदेखि २०५६ सालसम्म नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चालाई सघाउँदै आएको नेकपा एमाले २०७० सालको संविधान सभाको चुनावमा राजमोसँगै एमाले प्रतिष्पर्धामा उत्रियो ।
२०५२ सालदेखि भूमिगत राजनीति गर्दै आएको तत्कालीन नेकपा माओवादी पनि २०६४ सालको संविधान सभा निर्वाचनमा राजमो र एमालेलाई पछाडी पार्दै जिल्लाका दुबै चुनाव क्षेत्रमा आफ्नो विजयी झण्डा फहराउन पुग्यो । त्यसबेलादेखि कम्युनिष्ट भएर पनि एक आपसमा शत्रुका रुपमा रहँदै आएका यी तीन कम्युनिष्टहरु २०७० सालको चुनावले झन टाढिएका थिए ।
संविधान सभा दोस्रो चुनावमा एमालेले पहिलो पटक दुवै चुनाव क्षेत्रमा विजय हासिल गर्न पुग्यो । अघिल्ला चुनावमा एमालेले राजमोलाई सघाउँदै आएपनि यो निर्वानपछि एमालेसँग कुनै पनि सहकार्य र सम्झौता नगर्ने भन्दै राजमो जिल्ला पार्टीले बिज्ञप्ती जारी गरेको थियो ।
त्यसपश्चात जिल्लामा हुने हरेक संघ संस्था र ब्यवसायी सम्बन्धी चुनावमा एमाले एक्लिन पुग्यो । राजमोले कांग्रेस र माओवादीसँग तालमेल गर्न थालेको थियो । यो क्रम स्थानीय तह चुनावसम्म जोडिन पुग्यो । यद्यपि एमाले स्थानीय तह निर्वाचनमा पनि पहिलो पार्टी बनेको छ ।
२०६४ सालको संविधान सभा चुनावपछि टाढिएका एमाले, राजमो, माओवादी कार्यकर्ता एक आपसमा चिढिएका थिए । यतिबेला भने एकाएक यु–टर्न भएका छन् । २०७० को दोस्रो संविधानसभा चुनावपछि त यी दलहरु एक अर्का्बिच पानी बाराबार जस्तै भएका थिए । राजमो र एमालेको सम्बन्ध सबैको भन्दा चिसो थियो । जिल्लामा पहिलो शक्तिको रुपमा रहेको एमाले देखिएपछि राजमो एमालेसँग रुष्ट थियो ।
२०६४ मा माओवादी र २०७० मा एमालेले दुबै चुनाव क्षेत्रमा आफ्नो विजयी झण्डा फहराए पश्चात राजमो झनै कमजोर बन्न पुग्यो । त्यसदेखि नजिक हुँदा मात्रै बोल्ने यी दलका नेता कार्यकर्ता अहिले संयुक्त सभा र बिज्ञप्तीसमेत जारी गर्दै हिँड्न थालेका छन् ।
वाम एकतासँगै हिजोआज सम्बन्ध नजिकिएको अभिब्यक्ति बिभिन्न माध्यमबाट दलका कार्यकर्ताहरुले ब्यक्त गर्न थालेका छन् । राजनीतिक दुश्मन अस्थायी हुन्छ भन्दै कार्यकर्ताहरुले सामाजिक सञ्जाल र भेटका बेला एक अर्का पार्टीको बचाउसमेत गर्न भ्याउँछन् । वामपन्थि एकीकरणको चर्चासँगै यतिबेला जिल्लाका साविकका बिभिन्न गाविसमा संयुक्त आमसभा गरीरहेका छन् ।
केन्द्रिय तथा प्रदेश स्तरीय चुनावमा एकैसाथ होमिएका दलहरु जिल्लामा पहिलो पार्टी एमाले सँगको सहकार्य राजमो र माओवादीले सबैभन्दा उपयुक्त ठानेका छन् । केन्द्रमा एक र प्रदेशमा दुई सिट रहेको प्यूठानमा राष्ट्रिय समीकरण अनुसार केन्द्रमा राजमो र प्रदेशमा एमाले, माओवादीले एक÷एक सिटमा प्रत्यक्ष चुनाव लड्ने सहमति भएको छ । पार्टीगत एकताको प्रयाससँगै जिल्लाका सबै कम्युनिष्टहरु एकैसाथ चुनावी तालमेल र सहकार्यमा एकमनाका साथ लाग्ने उनीहरुको धारणा छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७४ बुधबार ००:००  १० : ४८ बजे