१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा कालानिमक धान खेती हराउँदै



दीपा महत, कपिलवस्तु, ११ कार्तिक ।
पछिल्लो समय कालानीमक धान कपिलवस्तुमा हराउदै गएको छ । जिल्लाको पहिचानको रुपमा स्थापित कालानिमक धान खेती गर्न छाडेपछि हराउदै गएको हो । कालानिमक धानको चामल पकाउँदा मगमग वासना आउने, खाना मिठो हुने र मंहगोमा विक्री हुने धान उत्पादनमा कमी हुदै गएपछि बर्षेनी हराउदै गएको छ । अरु धानको तुलनामा कम उत्पादन हुने र ढिलो पाक्ने हुने हुँदा कालानिमक धान प्रति कृषकहरुको रुची घटेको छ ।
जिल्लाको कुल खेतीयोग्य जमिन ८३ं हजार हेक्टर क्षेत्रफल मध्ये यस वर्ष ७२ हजार हेक्टर क्षेत्रमा धान खेती गरिएको छ । जसमा कालानीमक धानको खेती जम्मा ४ सय २५ हेक्टर क्षेत्रफलमा मात्र गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अघिल्लो बर्ष ४ सय ७२ हेक्टर क्षेत्रफलमा कालानीमक धान खेति गरिएको कार्यालयको भनाई छ ।
कालानिमक धान जिल्लाकै पहिचान समेत भएकाले यसको उत्पादन वढाउनमा स्थानिय तह सँग समन्वय गरेर कालानिमक धानखेतीलाई बढावा दिने कार्यालयको योजना रहेको छ । बजारमा आएको हाइबे्रड जातका धान छिटो पाक्ने र धेरै फल्ने आशामा किसानहरुले व्यापारिक हिसावले क्रमश कालानिमक धानको खेति गर्न छाडेका हुन् । चाडपर्व र विशेष अवसर तथा पाहुनाको स्वागतमा मात्र राम्रो परिकारकारको रुपमा मात्र कालानिमक चामलको माग अत्याधिक छ ।

धानको उत्पादन यस बर्ष बढ्ने अनुमान
जिल्ला कृषि विकास कार्यालय कपिलवस्तुका अनुसार यस बर्ष धानको उत्पादनमा बृद्धि हुनेछ । यसपाली जिल्लामा करिब १५ प्रतिशतले बृद्धि हुने कार्यालयले अनुमान गरेको छ । गत बर्ष धान उत्पादनमा ह्रास आएको भएपनि यसपाली त्यसो नहुने कार्यालयको दाबी छ । समयमा बर्षा हुन र किसानले प्रयाप्त मल पाएको कारण उत्पादन बढ्न सक्ने कार्यालयका अधिकृत खाँको अनुमान छ ।
१० स्थानीय तह रहेको जिल्लामा उन्नत धानका जातहरु मध्ये राधा चार, सावित्री, जानकी, मन्सुरी, साभामन्सुरी, राम, र हाईब्रीड धानका जातहरु मध्ये लोकनाथ, गोरखनाथ, मयूँर लगायत धानका जातहरु वढि मात्रामा लगाउने गरेको जिल्ला कृर्षि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७४ शनिबार ००:००  २ : ०९ बजे