१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

आलुको वीउमा पनि भारतकै भर



मायादेवी अनलाइन, कपिलवस्तु, १४ कार्तिक ।
नेपाली बजारमा आलुको बीउ तेब्बर महंगो भएपछि कपिलवस्तुका कृषकहरु भारतीय बजार तर्पm जाने गरेका छन् । भारतीय बजार कृष्णनगर, खुनुवा, चाकरचौडा, शोहरतगढमा आलुको वीउ खरिद गर्न नेपाली कृषक जाने गरेका हुन् । आलु लगाउने बेला बीउको अभाव भए पछि जिल्लाका कृषकहरु भारतीय बजारकै भर पर्ने गरेका छन् । वीउ उत्पादनमा प्रोत्साहन नगरिनु, अनुदान नदिने, उत्पादन गरिएको विउ राख्ने कोल्डस्टोर अभाव, व्यवसायिक आलु खेती नहुदा आलुको वीउ अभाव भएको हो । मुख्यतः वीउ भण्डारण गर्न नसकिएकाले सिजनमा बीउको अभाव देखिने गरेको कृषकहरु बताउँछन् ।

सीमाना जोडिएको भारतीय बजारमा बीउको मूल्य प्रति केजी २० देखि ३० रुपैया छ । भारतीय व्यापारीहरुले पनि मौकाको फाइदा उठाउँदै महंगोमा वीउ विक्री गरिरहेको वीउ किन्न जाने नेपाली कृषक बताउँछन् । आलु रोप्न ढिलो भए डढुवा रोगको प्रकोपको संम्भावना हुने भन्दै यस वर्ष कृषकहरुले कम क्षेत्रमा आलुखेती गरेको कृषि विकास कार्यालयले जनाएको छ । एकातिर बढी मूल्यका बीउ अर्को तर्फ उत्पादन समेत कम हुने भए पछि कृषकहरु यसमा कम आकर्षित भएको कार्यालयको भनाई छ ।

वाणगंगा नगरपालिका ४ का घनश्याम भुसालले बीउ महंगो भएकाले रित्तै फर्किएको बताए । बजार भरी घुमे, कृषि कार्यालय धाए तर कतै पनि सस्तो वा अनुदानमा बीउ पाईएन” उनले भने । जिल्लामा उत्पादित आलु र बीउलाई ब्यवस्थित गरेर राख्न हाल सम्म कोल्ड स्टोर समेत स्थापना गरिएको छैन । जसकारण बर्षेनी बीउका लागि भारतको मुख ताक्नु परेको आलु खेतीका अगुवा कृषक भभुते थारु बताउँछन् । कोल्ड स्टोर निर्माण गरिए पर निर्भरता धेरै हद सम्म समाप्त भई यहाँका कृषकहरुलाई फाईदा पुग्ने उनको भनाई छ ।

कृषि विकास कार्यालयका प्रमुख खुर्सेद अहमद खाँले नेपालमा बीउको अभाव हुने भएकाले कृषकहरु भारतीय आलु नै किन्ने गरेको स्विकार गरे । जिल्लामा आवश्यक पर्ने कूल आलु र बीउको ७५ प्रतिशत भारतबाट आयात हुने गरेको उनको भनाई छ । जिल्लामा उत्पादित आलुको वीउलाई संरक्षण गरेर राख्ने कोल्डस्टोर छैन, त्यसैले भारतको भर पर्नुको बिकल्प छैन’, उनले भने । सरकारले यहाँ कोल्ड स्टोर नबनाइकन यो समस्या समाधान हुने संभावना नभएको उनको तर्क छ ।

कृषि कार्यालयलले सेवा केन्द्र माफर्त थारै बीउ बितरण गरिए पनि त्यो भने पर्याप्त नभएको खाँ ले बताए । २ हजार ४७५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिने यस जिल्लामा कुफ्री सुन्दरी, कुफ्री बादसा, कुफ्री लालीमा, काडीनल, टिपीएस, लोकल साठा लगायत जातका आलु खेती गरिन्छ । कृषि कार्यालय अनुसार गत बर्ष २२ हजार ४१० हेक्टरमा गरिएको आलु खेतीबाट २० हजार १८० मेट्रिक टन आलु उत्पादन भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७४ मंगलबार ००:००  ३ : ५६ बजे