१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

परासीको हाटबजार दिनप्रतिदिन दुर्गन्धित हुदै



नवलपरासी, १५ कात्तिक (रासस) ।
नवलपरासी सदरमुकाम परासीमा रहेको हाटबजार दिनप्रतिदिन दुर्गन्धित हुँदै जान थालेको छ । हप्ताको दुई पटक लाग्ने हाटबजार हिजोआज दिनप्रतिदिन थप दुर्गन्धित बन्दै गएको तर यसप्रति कसैको ध्यान नगएको हाटबजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष राधेश्याम अग्रहरीले बताउनुभयो ।

रामग्राम नगरपालिकाले एउटा शौचालय बनाएको भए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । व्यापारीले खुला छानामुनि आफ्नो बजार व्यवसाय चलाएका छन् । बजारका लागि पर्याप्त संख्यामा पक्की छाप्रो नबन्दा व्यापारीले प्लाष्टिकको झुप्रो बनाएर आफ्नो पसल व्यवसाय सञ्चालन गरेको अर्का व्यापारी सञ्जय अग्रहरी बताउनुहुन्छ ।

झरही खोलामा बजारको फोहोर फाल्ने कामले खोला पनि थप प्रदूषण बन्दै गएको छ । यता व्यापारीको संस्था परासी बजार व्यवस्थापन समितिले बजारमा दिनप्रतिदिन फैलिँदै गएको दुर्गन्ध नियन्त्रण गर्न कुनै वास्ता नगरेको नगरवासीको भनाइ छ । बजारको अवस्था निकै जर्जर र दुर्गन्धित बन्दै गएको परासीका विकास शर्माको भनाइ छ । रामग्राम नगरपालिकाले वार्षिक रु १५ लाखको बजार ठेक्का लगाए पनि बजारबाट आउने रकम बजार व्यवस्थापनमा नलगाउँदा समस्या भएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७४ बुधबार ००:००  २ : ४३ बजे