२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

कुखुरापालनबाट दलित महिला मालामाल



केशर रोका, प्युठान, १८ कार्तिक ।
घरायसी काममा दिन बिताउने गाउँका महिलाहरू हिजोआज आयआर्जनमा जुट्न थालेका छन् । घरखर्चको जोहो गर्न श्रीमान्कै भर पर्नुपर्ने बाध्यताबाट उनीहरूले छुटकारा पाएका हुन् । बिहान उठेदेखि साँझसम्म महिलाहरू उद्यम, व्यवसाय र कृषिखेतीमा व्यस्त हुन थालेका छन् ।
प्युठान नगरपालिका–१ दाखाक्वाडी भलापाटाकी माया नेपालीले व्यावसायिक कुखुरापालन सुरु गरेकी छिन् । ३२ वर्षीय नेपालीले एक वर्षदेखि घरमै लोकल जातका कुखुरापालन गरेर आम्दानीको बोलियो स्रोत बनाएकी हुन् । ‘कुखुरा नपाल्दासम्म मेलापातमै समय बिताउँथे’, उनले भनिन, ‘श्रीमान् सधैँ रोजगारीका लागि भारत जानुपर्ने बाध्यताले गर्दा व्यवसाय थालेकी हुँ।’ रोजगारीका लागि श्रीमान् सुनील नेपाली भारतमा रहेको उनले जानकारी गराइन् ।
‘श्रीमान्ले कमाएको पैसा बचत हुन्छ’, उनले भनिन, ‘घरखर्च चलाएर पनि थोरैधेरै केही रकम बचाएकी छु ।’ सामान्य लेखपढ गर्न सक्ने उनले मेहनत गर्न सके घरमै आम्दानी गर्न सकिने उनको भनाइ छ । ‘धेरै ठाउँमा पुरुषले कुखुरापालन सञ्चालन गरेका छन’, उनले भनिन्, ‘महिलाले पनि पुरुषजस्तै काम गर्न सक्छन् भन्ने उदाहरण दिन मन लाग्यो र, व्यवसाय सुरु गरेँ ।’
थोकमा चार सय र खुद्रामा प्रतिकिलो पाँच सय रुपैयाँमा कुखुरा बिक्री गर्दै आएको उनले जानकारी दिइन् । जति कुखुरा भए पनि गाउँमै खपत हुने गरेको उनको भनाइ छ । फाट्टफुट्ट बाग्दुलामा समेत कुखुरा र्पुयाउने गरेको उनले बताइन् । घरआँगन मै मोटरबाटो सञ्चालन भएकाले ढुवानी गर्न समस्या नरहेको उनको भनाइ छ । यसैको आम्दानीबाट उनले छोरा नमु नेपालीलाई पढाइरहेकी छन् । आठ वर्षका उनका छोराले अहिले चार कक्षामा पढ्दै छन् ।
दलित समुदायका महिला उद्यममा लागेर आम्दानी गरिरहेका छन् । सोही ठाउँकी रिता नेपालीले पनि घरमै ब्रोइलर कुखरापालन सञ्चालन गरेकी छिन्। २९ वर्षीय नेपालीका श्रीमान् कमल नेपाली रोजगारका लागि दुबईमा छन् । कुखरापालन व्यवसायबाट भएको आम्दानीले उनले घरखर्चसँगै छोरालाई बोर्डिङमा पढाएकी छिन् ।
‘दुई वर्षदेखि श्रीमान् विदेशमा हुनुहुन्छ’, नेपालीले भनिन्, ‘घरको काम गरेर मात्र नहुँदो रहेछ। डेढ वर्ष भयो कुखुरा पाल्न थालेको ।’ सुरुमा फार्म सञ्चालन गर्दा कालिका विकास केन्द्र नेपाल, सेभ द चिल्ड्रेनअन्तर्गत १५ हजार रुपैयाँबराबरको सहयोग मिलेको उनले जानकारी दिइन् । ‘कालिकाले तालिम, दाना र डेढ सयवटा चल्ला दियो’, उनले भनिन्, ‘७० हजारभन्दा बढी रुपैयाँ लगानीमा फार्म सुरु गरेकी हुँ ।’
महिलाहरू गाउँकै साझा कृषि सहकारी संस्थामा समेत आबद्ध छन् । व्यवसाय सञ्चालन गर्दा आर्थिक अभाव भएको बेला उनीहरूले सहकारीबाट ऋण लिने गरेका छन् । ‘सहुलियत ब्याजदरमा महिलाहरूलाई ऋण दिने व्यवस्था मिलाएका छौँ’, संस्थाका अध्यक्ष सुनिल सापकोटाले भने, ‘गाउँका धेरै महिलालाई पेसा, व्यवसायमा लाग्न प्रोत्साहन गर्दै आएका छौँ ।’
महिलाहरूले सञ्चालन गरेको फार्मको बजारीकरणमा समेत संस्थाले पैरवी गर्दै आएको उनले जानकारी दिए । घरायसी काममा सीमित हुँदै आएका अधिकांश गृहिणी दुई वर्षदेखि आयआर्जनमा सक्रिय हुन थालेको उनले बताए । जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश ठाउँमा व्यावसायिक कुखुरापालन सञ्चालन हुने क्रम पछिल्लो समय बढ्दै गएको छ । दुर्गम गाउँहरू सडक सञ्जालले जोडिएपछि कुखुरापालन व्यवसायतर्फ आकर्षण थपिँदै गएको पाइएको छ ।
६४ मध्ये बहुसंख्यक वडामा कुखुरापालन व्यवसाय सञ्चालनमा रहेको जिल्ला पशुसेवा कार्यालय प्युठानका वरिष्ठ पशु विकास अधिकृत डा. शरणकुमार पाण्डेले जानकारी दिए । ‘जिल्लाभर दुई सय ५० वटा फार्म सञ्चालनमा छन’, उनले भने, ‘यसमध्ये ३० भन्दा बढी फार्म महिलाले चलाएका छन् ।’
जिल्लामा सञ्चालित एउटै फार्ममा २० हजारभन्दा बढी कुखुरा अट्न सक्ने क्षमताका भौतिक पूर्वाधारसमेत रहेको उनले बताए । महिलाहरूले नेतृत्व गरेर सञ्चालन गरेका फार्महरूलाई कार्यालयले विशेष प्रोत्साहन गर्दै आएको उनको भनाइ छ ।
अन्नपूर्ण पोस्ट्मा खबर छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  २ : ४७ बजे