१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

गाउँको विकाशमा गाउँकै युवा



शिब भुसाल, दक्षिण कोरिया, १८ कात्तिक ।
सरकार र नेताकोे मुख हेर्दा धेरै पछाडि परिएको भन्दै अर्घाखाँचीका युवायुवतीहरु गाउँको विकाशमा आफै सक्रिय हुन थालेका छन् ।
अर्घाखाँचीको सितगंगा नगरपालीकामा स्थायी घर भई देश तथा विदेशमा फैलिएर रहेका युवा युवतीहरुले रकम संकलन गरी गाउँको विकाशमा जुटेका हुन् ।
“सुशासन ,समृद्धि ,ऐक्यबद्धता,
समाज सुधार हाम्रो प्रतिबद्धता“ भन्ने मुल नाराका साथ दुई महिना पहिले अर्घाखाँचीको शितगंगा नगरपालिकामा शितगंगा सेवा समाज गठन गरी संस्था दर्ता गरिएको र काम थालिएको समाजका अध्यक्ष भिम खनालले जानकारी दिए ।
समाजले पहिलो चरणमा नगरपालिका भित्रका ११ ओटा माध्यमिक विद्यालयहरुको सुधार गर्ने लक्ष्य लिएको र त्यसकै लागि भुपु विद्यार्थीहरुबाट रकम संकलन अभियान चलाईएको उनले बताए ।
शैक्षिक सुधार अन्तर्गत कालोपाटी विस्थापित गरि प्रोजेक्टरको माध्यमबाट पढाउने र विद्युत पुगेका क्षेत्रका विद्यालयमा विद्यार्थीलाई कम्प्युटर शिक्षामा साक्षर बनाउने लक्ष्य रहेको उनले बताए ।
सिद्धारा नगरपालिका अन्तर्गगत सिद्धारा र ठाडामा रहेका ३ ओटा विद्यालयमा सामग्री हस्तान्तरण गरिएको र बाँकी विद्यालयहरुमा प्रक्रियामा रहेको उनको भनाई छ । समान्यतया विद्यार्थीको संख्याका आधारमा बढीमा १० ओटा कम्प्युटर, प्रिन्टर लगायतका आधुनिक शैक्षिक सामग्री हस्तान्तरण गर्ने गरिएको र एउटा विद्यालय बराबर ४ लाखको सामग्री हस्तान्तरण गरिएको छ ।
समाजको अभियानमा हाल सम्म १२ लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिसकिएको र करिब ८ लाख घोषणा भएको उनले बताए ।
नगरपालीकाका ११ ओटा विद्यालयको शैक्षिक सुधार पश्चात अन्य क्षेत्रको विकासमा लाग्ने लक्ष्य रहेको उनको भनाई छ ।
निजि विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थी र गाउँका सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको स्तरमा निकै भिन्नता रहेकाले सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमा कम्तिमा प्रविधिको समान्य अवधारण भएपनि दिलाउनु समाजको उद्देश्य रहेको छ ।
कार्यक्रमको सफलताका लागी कोरियामा पनि रकम संकलन अभियानलाई तिव्रता दिईएको छ । सितगंगामा स्थायी घर भई हाल कोरियामा रहेका युवाहरुको सक्रियतामा हाल सम्म करिब रु १ लाख रकम संकलन गरिएको अभियानका कोरिया संयोजक मिनराज पोख्रेलले जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७४ शनिबार ००:००  ३ : ५५ बजे