७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अनिवार्य रुपमा आचारसंहिता पालना गर्न आग्रह



दाङ, २१ कात्तिक (रासस) ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, दाङले राजनीतिक दल तथा उम्मेदवारलाई अनिवार्यरुपमा आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।
कार्यालयले सोमबार घोराहीमा राजनीतिक दल तथा उम्मेदवारलाई बोलाई निर्वाचन आचारसंहिता अनिवार्यरुपमा पालना गर्न आग्रह गरेको हो ।
मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले दलहरुले आफैँ बनाएको चुनावी नियमलाई पालना गरी शान्तिपूर्ण र भयरहित वातावरणमा चुनावमा होमिन आग्रह गर्नुभयो । आचारसंहिता पालना गरे चुनाव निष्पक्ष, शान्त, भयरहित र नमूना बन्ने भन्दै उहाँले प्रचार सामग्रीमा टिसर्ट, टोपी, झोलाको प्रयोग नगर्न आग्रह गर्नुभयो ।
चुनावमा बालबालिकाको पनि प्रयोग नगर्न भन्दै उहाँले प्रतिनिधि सभा सदस्यका उम्मेदवारले चारवटा हलुका चारपांग्रे गाडी र चारवटा मोटरसाइकल, प्रदेश सभा सदस्यले दुईवटा हलुका चारपांग्रे गाडी र चारवटा मोटरसाइकल मात्रै प्रयोग गर्न पाउने बताउनुभयो ।
आचारसंहिता पटक–पटक उल्लंघन गरी अटेरी गरे उम्मेदवारको उम्मेदवारी रद्धसमेत गर्न आफूहरु बाध्य हुने मुख्य निर्वाचन अधिकृत रावलले चेतावनी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले निर्वाचनमा सुरक्षाको कुनै कमी नहुने तर आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले विगतका चुनावमा आचारसंहिताको व्यापक उल्लंघन हुँदा पनि नियामक निकाय मुकदर्शक बनेको भन्दै अहिले कडाइ गर्न सुझाव दिएका छन् । उनीहरुले निर्वाचन आचारसंहिता पूर्णरुपले पालना गर्ने पनि बताएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७४ मंगलबार ००:००  ३ : १९ बजे