१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

लालबाबूको सादगी उम्मेदवारीले शेखरलाई सबैभन्दा महंगो ! नेता शेखर नाकाबन्दीको पक्षपाती हुन !



मोरङ, २१ कात्तिक ।
मंसिर २१ गते हुने चुनावका लागि राजनीतिक दलहरुले आफ्ना उम्मेदवारको प्रचार अभियानलाई तीब्र बनाएका छन् । प्रतिनिधिसभाका लागि ६ वटा निर्वाचन क्षेत्र भएको मोरङमा क्षेत्र नं ६ को चुनावले यसपटक देशकै ध्यान तानिएको छ । एक पटक मन्त्री भएर सिंगो देशको वाह वाही कमाएका एमाले नेता लालबाबू पण्डितको उम्मेदवारीका कारण यस क्षेत्र देशैभर चर्चाको केन्द्रमा रहेको हो ।
लालबाबू पण्डितसँगको प्रतिस्पर्धामा सत्तारुढ नेपाली कांग्रेसले नेता शेखर कोइरालालाई उम्मेदवार बनाएको छ । कोइराला यसअघि सोही क्षेत्रबाट निर्वा्चित सांसद हुन् भने पण्डित अघिल्लो चुनावमा उम्मेदवार नै नबनेका नेता हुन् । लालबाबूसँग चुनावी प्रतिस्पर्धामा टिक्न कोइरालालाई निकै हम्मे हुने स्थानीय मतदाताको बुझाई छ ।
राजनीतिक नेताहरुमाथि सार्वजनिक ठाउँमा चर्चा हुँदा प्रायः सबै नेता प्रशंसा र आलोचना दुवै सामना गर्न वाध्य हुन्छन् । तर, लालबाबू यस्ता नेता हुन् जो मन्त्री भएर निस्किंदा प्रशंसा मात्रै पाए । उनले आलोचनाको घेरामा बस्नु परेन ।
नाम लालबाबू भए पनि उनी कालो वर्णका छन् । मजदूर आन्दोलनबाट तत्कालीन नेकपा मालेको राजनीतिमा आएका लालबाबूको जीवनशैली अन्यन्तै सामान्य छ । उनले ०७० मा मन्त्री हुँदा मन्त्रालय पनि सामान्य नै पाए, सामान्यप्रशासन मन्त्रालय । हतपति कसैले लिन नमान्ने मन्त्रालयको मन्त्री हुँदा लालबाबूका कामले सामान्य प्रशासन मन्त्रालय सर्वा्धिक चर्चाको बन्न पुग्यो । नेपालको कर्मचारीमा जागिर खाएर पनि विभिन्न देशमा ग्रिनकार्ड र पीआर लिएर बस्ने कर्मचारीलाई लालबाबूले कि ग्रिनकार्ड र पीआर रोज्न कि जागिर रोज्न भन्दै अभियान चलाए । उनले त्यसबेला ल्याएको कर्मचारी सम्बन्धी ऐनका विरुद्ध तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र तत्कालीन अर्थमन्त्री डा. रामशरण महत नै थिए । तर, लालबाबूको बलियो अडानका कारण उनी सरकारी कर्मचारीलाई ग्रिनकार्ड र पीआर धारण गरेर बस्न नमिल्ने बनाए । अर्कै देशको ग्रिनकार्ड लिएर बस्ने हो भने यहाँ कर्मचारी भएर जागिर खान पाइंदैन भन्दै उनले कडा अडान लिए । आफ्नो काममा सफलता पाएकैले लालबाबू प्रशंसाको केन्द्रमा पुगे, सिंगो देशले उनलाई स्यावासी दियो ।
लालबाबूको जीवनशैली सामान्य छ । एकपटक मन्त्री र तीन पटक सांसद भइसकेका उनले राजधानीमा घर बनाएर बस्ने सपना देखेनन् । उनी सर्वसाधारण झैं सार्वजनिक बस र ट्याम्पोमा यात्रा गरिरहेका भेटिन्थे ।
लालबाबूका अरु पनि केही गुणहरु छन् । ठूलो भूकम्पले देशलाई हल्लाएर संकट आएका बेला उनी मन्त्री थिए । तर, उनी सामान्य मानिसझैं भूकम्पपीडितको उद्धार र पुनस्र्थापनामा ब्यक्तिगत तवरमै जुटे । त्यस्तै भारतीय नाकाबन्दीले नेपाललाई गाँजेका बेला उनी राष्ट्रिय स्वाधीनता र अखण्डताको पक्षमा दह्रोसँग उभिएका नेता हुन् ।
लालबाबूसँग चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस नेता शेखर कोइराला नाकाबन्दीको पक्षमा खुलेर लागेका थिए । कांग्रेसको बंशीय विरासत कोइराला परिवारका शेखर यसअघिको चुनावमा जस्तो यसपटक सजिलै चुनिन गाह्रो हुने निश्कर्षमा छन् । नेपालका दुई ठूला वामपन्थी दल एमाले र माओवादीको तालमेल र आफ्नो क्षेत्रमा लालबाबूको उम्मेदवारीले कोइरालालाई चिन्तित बनाएको छ । राष्ट्रिय राजनीतिमा कांग्रेसको भारतपरस्त भूमिका हुँदा हुँदै भारतले कांग्रेसलाई देखिनेगरी नाकाबन्दीको समर्थकका रुपमा एक्सपोज गरिदिएकाले कांग्रेस कमजोर हुन पुगेको शेखर कोइरालाले सार्वजनिक रुपमै स्वीकार गरेका छन् । यसपटकको चुनावमा सम्भवतः सबैभन्दा सादा उम्मेदवार लालबाबू पण्डित कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाका लागि सबैभन्दा महंगो प्रतिद्वन्द्वी सावित भएका छन् ।
चक्रपथ अनलाइनबाट

प्रकाशित मिति : २१ कार्तिक २०७४ मंगलबार ००:००  ११ : ४३ बजे