१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

कांग्रेसले आज महाधिवेशनको मिति घोषणा गर्ने



काठमाडौँ । 

लगातार तीन पटक सरेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। मंसिर ६ गते निर्वाचनबारे निर्णय गरे पनि महाधिवेशनको विवाद टुंग्याउन नसकेको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो। 

बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकामा छलफल हुने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तभित्र महाधिवेशन गर्नेगरी कार्यतालिका प्रस्तुत गर्नेछन्। सहमति जुट्न नसकेपछि आइतबार नै सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्दै निर्वाचनअघि नै महाधिवेशन गर्नेगरि पुस २६ गतेको मिति दिएका थिए।

कांग्रेसमा विशेष महाधिवेशनको माग फिर्ता भए कार्यतालिका स्वीकार्न सकिने मध्यमार्गी प्रस्तावसँगै सभापति देउवाले पनि निर्वाचनअघि महाधिवेशनका लागि सकारात्मक बनेपछि सोमबारको बैठकमा अर्को कार्यतालिकामा सहमति हुनसक्ने देखिएको छ।

यद्यपि विशेष महाधिवेशन पक्षधर नेताहरुले भने प्रस्तावफिर्ता गर्नुअघि महाधिवेशन हुने सुनिश्चितता खोजेका छन्। आजको बैठकअघि कार्यवाहक सभापति खड्काले सबै नेताहरूलाई प्रस्तवबारे ‘ब्रिफिङ’ गर्दै छन्। कांग्रेसले असोज अन्तिम सातादेखि लगातार बैठक गरे पनि महाधिवेशनबारे टुंगोमा पुग्न सकेको छैन। 

प्रकाशित मिति : १५ मंसिर २०८२ सोमबार ००:००  १० : ३६ बजे