२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

नवनिर्वाचित जनप्रतिनिधिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पहल गर्ने



नवलपरासी, कात्तिक २२ । नवलपरासीका नवनिर्वाचित जनप्रतिनिधिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पहल गर्ने बताएका छन् ।
प्रतापपुर र सुस्ता गाउँपालिकाले संयुक्त रुपमा गरेको वैदेशिक रोजगारीबारेमा छलफलमा सहभागी जनप्रतिनिधिले सूचना र सीप नलिई विदेश जाँदा समस्या भइरहेको भन्दै त्यस्ता व्यक्तिलाई सूचना र सीप लिएर मात्रै विदेश जाने बनाउने आफूहरुले पहल गर्ने बताएका हुन् ।
सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, उपाध्यक्ष इन्द्रकुमारी थरुनी, प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा, उपाध्यक्ष अन्जुकुमारी चौधरी र आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष बलबहादुर थापाले युवालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जन गर्न लागि पर्ने भन्दै विदेश जानेहरुलाई सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिनु पनि आफूहरुको कर्तव्य भएको बताउनुभयो ।
कार्यक्रममा वैदेशिक रोजगारीको अवस्था र जननिर्वाचित पदाधिकारीहरुले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन के गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको कार्यक्रमका सञ्चालक सामी परियोजनाका कार्यक्रम अधिकृत ज्ञानेश्वर भण्डारीले बताउनुभयो ।
सकेसम्म स्वदेशमै रोजगारी गरौं यदी विदेश जाने नै भए सही सूचना र सिप सिकेर जाऔं भन्ने नारा सहित गरिएको कार्यक्रमको सहजिकरण सामी परियोजनाकी कार्यक्रम संयोजक उमा पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  ५ : ४७ बजे