८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

म्याग्दीका २२ मतदानस्थल संवेदनशील



म्याग्दी, कात्तिक २२ – म्याग्दीका २२ मतदानस्थल सुरक्षाका हिसाबले संवेदनशील रहेका छन् । आउँदो मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि जिल्ला सुरक्षा समितिले संवेदनशील मतदानस्थलका लागि विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ ।
यसअघिका चुनावमा भएका क्रियाकलाप, भौगोलिक विकटता, सञ्चार तथा यातायात लगायतका सुविधाको पहुँचका आधारमा संवेदनशील मतदानस्थलको पहिचान गरी आवश्यक सुरक्षा योजना तयार पारिएको हो । म्याग्दीमा ७२ मतदानस्थल र १०६ वटा मतदान केन्द्र रहेका छन् । गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावमा १०२ मतदान केन्द्र रहेका थिए ।
चुनाव विशेष सुरक्षा योजना अनुसार संवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था मिलाउन उच्च प्राथमिकता दिइने म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो । चुनाव सुरक्षाका लागि म्याग्दीमा पर्वतको कुश्मामा रहेको सशस्त्र प्रहरीको चण्डीका गणबाट प्रहरी नायव उपरीक्षक सुशील सुवेदीको नेतृत्वमा अस्थायी बेसक्याम्प स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
एक नगरपालिका, पाँच गाउँपालिका, ४५ वटा वडा रहेको म्याग्दीमा ७५ हजार ५ सय ३८ मतदाता रहेका छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा विभिन्न दलबाट १३ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  ५ : ५१ बजे