१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

भक्तपुरमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते



भक्तपुर, कात्तिक २४ ।

भक्तपुरको सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोग चोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । दुईजना घाइते छन् ।

बिहीबार राति बा ४९ प १५४९ नम्बरको मोटरसाइकल र बा ९० प ३९६५ नम्बरको मोटरसाइकल ठोक्किदा बा ४९ प १५४९ नम्बरको मोटरसाइकलका चालक धादिङ केवलपुर १० घर भई कुलेश्वर बस्ने ४२ वर्षका सानुकाजी श्रेष्ठको ज्यान गएको हो ।

महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनका अनुसार दुर्घटनामा घाइते भएका श्रेष्ठको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचारका क्रममा ज्यान गएको हो ।

मोटरसाइकल पछाडि सवार धादिङकै ४४ वर्षका कमलबहादुर बास्कोटाको मध्यपुर अस्पतालमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । बा ९० प ३९६५ नम्बरको मोटरसाइकल र त्यसका चालक मथिनपा ७ नगदेश बस्ने १८ वर्षका रोहित बाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते भएका बाडेको प्रहरीको निगरानिमा मध्यपुर अस्पतालमा उपचार भइरहको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७४ शुक्रबार ००:००  ४ : २३ बजे