१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भारतबाट उद्धार गरिएको एक गैँडा निकुञ्जमा छाडियो



चितवन, कात्तिक २४ ।

भारतको वाल्मीकि टाइगर रिजर्भबाट उद्धार गरी ल्याइएको एउटा गैँडालाई शुक्रबार बिहान सौराहाको जनकौलीबाट चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।

वन सचिव डा. युवकध्वज जिसी, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव गोविन्द गजुरेल लगायतको उपस्थितिमा गैँडा छोडिएको हो । गएको साउन अन्तिम साता आएको बाढीका कारण बगाएर भारत र्पुयाएको गैँडालाई बिहीबार उद्धार गरी राति सौराहा ल्याइएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीले बगाएर भारत पु¥याई उद्धार गरिएको यो नवौँ गैँडा हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार भारतको वाल्मीकि टाइगर रिजर्भको मदनपुर क्षेत्रबाट अन्दाजी १५ वर्षको पोथी गैँडालाई उद्धार गरिएको हो । मदनपुर क्षेत्र नेपालको सीमा क्षेत्रबाट २० किलोमिटर पूर्वतर्फ पर्दछ ।

नेपालबाट लगेका चार हात्ती र झण्डै ७० जना जनशक्तिको दिनभरको प्रयासबाट बिहीबार दिउँसो गैँडालाई नियन्त्रणमा लिइएको पाठकले बताउनुभयो । डाट गरेर गैँडालाई बेहोस बनाई ट्रकमा राखेर बेलुका नेपालतर्फ ल्याइएको हो । भारतकै उत्तर प्रदेशमा पनि अर्को एक गैँडा देखिएको पाठकले बताउनुभयो । नेपालको सीमा क्षेत्रबाट झण्डै ६० किलोमिटर टाढा वन क्षेत्रमा गैँडा देखिएको सूचना प्राप्त भएको हो । त्यस क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको एक टोली अवस्था बुझ्नका लागि शुक्रबार त्यसतर्फ जाँदैछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७४ शुक्रबार ००:००  ४ : २६ बजे