८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आज नारायणगढ–मुग्लिङ सडकखण्ड सात घण्टा बन्द हुने



चितवन, २५ कात्तिक ।
नारायणगढ–मुग्लिङ सडकखण्ड शनिबार सात घण्टा बन्द हुने भएको छ । चितवनको सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन सात घण्टा बाटो बन्द गर्न लागिएको नारायणगढ–मुग्लिङ सडक आयोजनाले जनाएको छ ।
बिहान १० देखि बेलुका ५ बजेसम्म गाडीको आवतजावत रोकेरै ढुंगा पन्छाउने काम गरिने आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो । उहाँले बाटो अवरुद्ध हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह पनि गर्नुभएको छ । आइतबारदेखि भने कालोपत्र गर्ने ठाउँमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने ठाउँमा बिचबिचमा सडक रोक्दै काम अघि बढाइने छ ।
आइतबारदेखि एकहप्ता परीक्षणस्वरुप बिहान ७ देखि साढे बजे, ११ देखि १२ बजे, १ देखि २ बजे र ३ देखि ४ बजेसम्म गाडी रोकेर भित्तो काट्ने काम गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।
यो सडकको १६, २२ र ३३ किलो क्षेत्रमा झण्डै ७ सय मिटरमा भित्तो काट्ने काम बाँकी छ । झण्डै १० किमी क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ । दुई वर्षदेखि यहाँ सडक चौडा पार्ने काम सुरु गरिएको हो । यो सडकको अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सकिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७४ शनिबार ००:००  ३ : ०० बजे