१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

भारतीय ट्रकको दादागिरी बन्द भएन, सरकार किन रमिते !



रुपन्देही, २६ कार्तिक ।
भारतीय ट्रकले नेपालमा ढुवानीले गर्दा नेपाली व्यवसायीहरु समस्यामा परेको यातायात समितिहरु बताउँछन् । तर रुपन्देहीमा मल ढुवानी गर्न सवारी साधन पाउनै गाह्रोे छ ।
पश्चिम नेपालमा मल अभाव भएपछि मल ढुवानी गर्ने कृषि सामाग्री कम्पनी क्षेत्रिय कार्यालय भैरहवाबाट ढुवानीका लागि सवारी नपाउँदा मल गोदाममै थन्किएको छ । यातायातमा सिन्डिकेटका कारण ढुवानीका लागि ट्रकको टोक्कन पाउनै समस्या परेको कृषि सामाग्री कम्पनी क्षेत्रिय कार्यालय भैरहवाका प्रमुख राजेन्द्र बहादुर कार्कीले बताउनुभयो ।
भारत र चाइनबाट कृषि सामाग्री कम्पनीमा ३६ सय मेट्रिक टन डिएपी मल आएको छ । करिव १९ सय मेट्रिक टन मल अभाव भएका जिल्लाहरुमा परिचालन भैसकेको कार्यालयले जनाएको छ । धनगढी चार सय ४६, कपिलबस्तु चार सय ३३, महेन्द्रनगर २ सय १४, बर्दिया दुई सय ६, दाङ्ग एक सय ५६, नेपालगन्ज एक सय ५२ र नवलपरासी दुई सय दुई मेट्रिक टन मल ढुवानी भैसकेको छ । सवारी अभावका कारण अन्य जिल्लाहरुबाट माग भएपनि मल ढुवानी गर्न नसकेको कार्यालयले जनाएको छ ।
व्यवसायीहरुले भने चार पाँच दिनमा पालो पर्ने हुँदा गाढी खाली भएपनि समितिको आलोपालो नियममा चल्नै पर्ने बताउँछन् । सिजनको बेलामा मल ढुवानी नभएपछि किसानहरु तोरी र गहुँ छर्न पाएका छैनन् । भारतीय सिमा नजिकका किसानहरु गुणस्तर र पोषक तत्व कम भएको रासानीक मल प्रयोग गर्न बाध्य भएका छन् ।
कृषि बिज्ञहरुका अनुसार मंसिर पहिलो सातासम्म गहुँ छर्न उपयुत्र्त समय रहेको बताउँछन् । एकातिर सरकारले सिजन शुरु भएपछि मात्रै मल ल्याउने प्रकृया शुरु गर्छ अर्कातिर आएको मलपनि सिन्डिकेटका कारण ढिलाइ हुँदा किसानहरु दोहोरो मारमा परेका छन् । जसबाट प्रत्येक वर्ष उत्पादन र उत्पादकत्तवमा ह्रास आइरहेकोले किसानहरुलाई दिइने अनुदानको मल सिजनकै बेलामा ढुवानी गर्न सरकारले छुट्टै बिकल्प खोज्नु जरुरी देखिन्छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७४ आइतबार ००:००  ३ : १२ बजे