१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चितवनमा वाम गठबन्धनको मंसिर ५ गतेको सभा स्थगित, आज चुनावी कार्यक्रम नहुने



चितवन, मंसिर ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनपछि चितवन क्षेत्र नं। ३ का प्रतिनिधिसभाका उम्मेदवार एवंम् वन मन्त्री विक्रम पाण्डेले आइतबारका लागि तय भएका सबै चुनावी कार्यक्रम स्थगित गर्नुभएको छ ।
उहाँले पूर्व प्रधानमन्त्री दाहालका छोराको आइतबार बिहान भएको निधनले आफू मर्माहित भएको बताउँदै आइतबारका लागि तय भएका चुनावी कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । यही मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावमा चितवन क्षेत्र नं। ३ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेता पाण्डे प्रतिस्पर्धामा रहनुभएको छ ।
यसैबिच वाम गठबन्धन चुनाव प्रचार प्रसार कमिटिले मंसिर ५ गते भरतपुरको साझा बसपार्कमा आयोजना गर्न लागेको आमसभा स्थगित गरेको जानकारी दिएको छ । अर्को सूचना नआएसम्मका लागि कार्यक्रम आमसभाको कार्यक्रम स्थगीत गरिएको हो । सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो ।
वाम गठबन्धन चुनाव प्रचार प्रसार कमिटिको तर्फबाट चुनाव प्रचारप्रसारको क्रममा आइतबारको औपचारिक सबै कार्यक्रम स्थगित गरिएको जानकारी प्रचार कमिटि क्षेत्र नं २ का संयोजक घनश्याम भट्टराईले बताउनुभयो । विवेकशील साझा पार्टीका उम्मेदवार शरदराज पाठकले पनि आइतबारका चुनावी कार्यक्रम स्थगित गरेको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७४ आइतबार ००:००  ५ : ५६ बजे