१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

जिम्बाब्वेका राष्ट्रपति मुगाबेको राजनीति संकटमा, पार्टी नेताबाट हटाइयो



हरारे, ४ मंसिर ।
जिम्बाब्वेको सत्तारुढ दल जानु-पीएफले राष्ट्रपति रबर्ट मुगाबेलाई दलको नेताबाट बर्खास्त गरेको छ ।आइतबार बसेको पार्टीको बैठकले मुगाबेलाई बर्खास्त गरी पूर्वराष्ट्रपति इमर्सन मनंगावालाई दलको नेता नियुक्त गरेको पार्टीका अधिकारीले बताएका छन् । उनलाई राष्ट्रपति मुगाबेले दुई साताअघि पदबाट बर्खास्त गरेका थिए ।
उपराष्ट्रपति मनंगावालाई बर्खास्त गरेपछि त्यहाँको राजनीतिक संकट उत्पन्न भएको थियो । त्यसलगत्तै सेनाले ९३ बर्से राष्ट्रपति मुगाबेलाई उनकै आवासमा नजरबन्द गरी रक्तपातविहीन रुपमा ‘कू’ गरेपछि घटनाक्रमले नयाँ मोड लिएको थियो । मुगाबेले पत्नी ग्रेस मुगाबेलाई उत्तराधिकारी बनाउन उपराष्ट्रपति मनंगावालाई बर्खास्त गरेका थिए । सेनाले ग्रेसलाई मुगाबेको उत्तराधिकारी बन्नबाट रोक्न ‘कू’ गरेको थियो ।
मुगाबेलाई नेताबाट बर्खास्त गरेसँगै पार्टीले ग्रेसलाई दलबाटै निकालेको छ । उनको निजी आवासबाट आइतबार मोटरकेड निस्केको देखिएको थियो । उनले आइतबार नै सैनिक नेतृत्वसँग वार्ता गर्ने सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि शनिबार आयोजित मुगाबेविरोधी प्रदर्शनमा हजारौं जिम्बाब्वेली सडकमा निस्केका थिए । सत्तारुढ दलको निर्णयको जिम्बाब्वेलीहरूले स्वागत गरेको बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएको छ । पार्टीका निर्णयपछि उनीहरूले खुसियाली मनाएका छन् ।एक जना वरिष्ठ अधिकारीले अब देशमा नयाँ युग सुरु भएको र मुगाबेले खेती गरेर बसे हुने प्रतिक्रिया दिएको पनि बीबीसीले उल्लेख गरेको छ ।
तर सत्तारुढ दलले गरेको निर्णयले वैधानिकता पाउन बाँकी छ । तर यो निर्णयले मुगाबेमाथि केही दिनयता पद त्याग्न परेको दबाब पार्टीले अझै बढाउने छ । अब पनि उनले पदबाट राजीनामा नदिए बर्खास्त गर्ने तयारी गरिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
स्वतन्त्रता सेनानीको संगठन वार भेटरन्स एसोसिएसन (डब्ल्यूभीए) का अध्यक्ष क्रिस मुत्सवांगाले राष्ट्रपतिबाट मुगाबले राजीनामा नदिए प्रदर्शनकारीले नै उनीमाथि कारबाही गर्ने चेतावनी दिएका छन्।
सन् १९८० मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएपछि मुगाबे निरन्तर ३७ वर्ष सत्तामा छन् ।
त्यहाँ विकसित घटनाक्रम
-दुई साताअिघ मुगाबेले उपराष्ट्रपति मनंगावालाई बर्खास्त गरे । मनंगावा देशबाट पलायन भए ।
( सेना प्रमुख जनरल कोन्स्टान्टिनो चिवेंगालेसत्तारुढ दलभित्रको सत्ता संघर्ष अन्त्य गर्न हस्तक्षेप गर्नसक्ने गत सोमबार चेतावनी दिए । मुगाबे पक्षधर नेताले उनको आलोचना गरे ।
-सेनाले राष्ट्रिय टेलिभिजन गत बुधबार आफ्नो नियन्त्रणमा लियो ।
( त्यसपछि मुगाबेलाई उनकै आवासमा नजरबन्द गरियो । राजधानी हरारेस्थित सत्तारुढ दलको कार्यालयमा सेनाले कसैलाई जान दिएन ।
– शनिबार आयोजित मुगाबेविरोधी विशाल जनप्रदर्शनले उनको राजनीतिक शक्ति अझ कमजोर बनायो ।
एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ मंसिर २०७४ सोमबार ००:००  ३ : ३९ बजे